Breaking News

Radio Star

विराटनगर महानगरपालिकाभित्र धरापैधराप

प्रकाशित मिति : १३ असार २०७५, बुधबार १२:५९

विराटनगर, १३ असार । विराटनगर महानगरपालिकाभित्र यतिबेला जताततै धरापैधराप छ । कतिपयले व्यङ्ग्य गर्दै भन्ने गर्दछन् ‘महानगर होइन धुलोनगर, हिलोनगर र धरापनगर हो विराटनगर ।’ झट्ट हेर्दा त्यस्तै देखिन्छ पनि । बिहान सकुशल निस्केको व्यक्ति बेलुका घर पुग्दा कि त जिउभरि धुलैधुलो हुन्छ कि त हिलैहिलो । अझ कतिपय व्यक्ति त लडेर जिउभरि घाउ लिएर पुग्छ घर ।
बुधबारमात्रै विराटनगर–११ पिचरा नगर छेउमा निर्माण भइरहेको कलर्भटबाट लडेर स्थानीय उपेन्द्र ढुंगेल घाइते भए । उनी मोटरसाइकलसहित कल्र्भटबाट झरेका थिए । तत्कालै ढुंगेलको उद्धार गरी स्थानीय रतन मेडिकलमा उपचार गरिएको थियो । “ठूलै भाग्यले बाँचें,” ढुंगेलले भने, “जताततै धरापैधराप छ ।” निर्माण भइसकेको लामै समय हुँदा पनि कल्र्भटमा माटो भरिएको छैन । जसका कारण सर्वसाधारण जोखिम मोलेर छेउको डेढ फुटे सडकबाट हिंड्न बाध्य छन् । दुर्घटनालगत्तै पुगेका वडाध्यक्ष तीर्थेन्द्र न्यौपानेले भोलि नै कलभर्ट पुर्ने बताए ।
केही समयअघि पाञ्चालीचोकमा बस पल्टियो । आधा दर्जन यात्रु घाइते भए । त्यसो त धरापमा पर्ने ढुंगेल मात्रै कहाँ हुन् र ? दुई हप्ताअघि सुनसरी झुम्काका अजय श्रेष्ठ बरगाछी दक्षिण निर्माणाधीन सडकमा मोटरसाइकलसहित पछारिए । उनको हात भाँचियो । विराटनगर–११ का अनिश घिमिरे स्कुटरसहित लडे नालामा । दाहिने हातमा चोट लाग्यो उनको । घिमिरे सामान्य घाइते भए । यी त केही उदाहरणमात्रै हुन् । दैनिक साना ठूला दुर्घटना भइरहेका हुन्छन् विराटनगरभित्रका सडकमा ।
निर्माणाधीन सडक प्रवेश गर्ने ठाउँमै महानगरले सूचना नराख्दा धेरै यात्रु धरापमा पर्ने गरेको विराटनगर–१२ का रामेश्वर यादव बताउँछन् । ‘यो सडक निर्माण भइरहेको छ फलानो सडकबाट जानुहोला’ भनेर सूचना राखिदिए सर्वसाधारणले सहज रुपमा यात्रा गर्ने नागरिक समाजका अगुवा रामबाबु दाहालको भनाइ छ । “अहिले त ठीकै छ अब वर्षा सुरु भएपछिको अवस्था के हुने हो,” दाहालले भने, “महानगरले कामलाई तीव्रता दिनै सकेन अझै ।”
महानगरले चारैतिर एकैपटक भत्काउँदा यात्रुका लागि धरापसिद्ध भएको छ विकास पनि । “कम्तिमा एउटा क्षेत्रको सडक निर्माण सम्पन्न गरेर भत्काउँदा राम्रो हुने थियो,” संयुक्त नगर टोल समन्वय समितिका संयोजक राजेश मास्के भन्छन्, “तर, यहाँ त काम देखाउन जताततै भत्काइएको छ । बनाउने काम सुस्त छ ।” महानगरमा जनप्रतिनिधिले जिम्मेवारी सम्हालेको वर्ष दिन पुग्नै लाग्दा पनि जनताले महसुस गर्ने कुनै काम गर्न सकेका छैनन् । खास गरी जनप्रतिनिधिहरू उद्घाटन, शिलान्यास र भ्रमणमै सीमित भएको उनको भनाइ छ ।

प्रकाशित मिति : १३ असार २०७५, बुधबार १२:५९

हाम्रो बारेमा

विराट सन्देश डिजिटल अनलाईन
विराटनगर- ५, चादनी चोक
मोरङ, नेपाल
फोन नम्बर ०२१४६२८४३
ईमेल-  [email protected]

Archives

Facebook

हाम्रो समूह

१. शेखर रेग्मी- प्रधान सम्पादक
२. मीनकुमार नवोदित- सम्पादक
३. गोपाल पोखरेल- सह सम्पादक
४. सुशिला पाठक- कार्यकारी सम्पादक
५. धिरज दाहाल- समाचार संयोजक
६. सुशान्त रिजाल- प्रबन्ध निर्देशक
७. आशिष भट्टराई- निर्देशक

Official Address

Birat Sandesh Digital Online

Biratnagar-5, Chadani Chowk

Morang, Nepal

Phone 021-462843

Email: [email protected]