भोलिबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘ए मेरो हजुर ३’को शीर्ष गीत सार्वजनिक भएको छ । रिलिजको एक दिन अगाडी निर्माण पक्षले युट्युब मार्फत चलचित्रको शीर्ष गीत रिलिज गरेको हो । गीतमा अनमोल रकस्टारको भूमिकामा देखिएका छन् । गीतमा अनमोल रक स्टार बनेर गीत गाइरहेको देख्न सकिन्छ भने नायिका सुहाना थापा अनमोलको फ्यानको रूपमा प्रस्तुत भएकी छिन् । सार्वजनिक भएको गीतमा प्रताप दासको स्वर रहेको छ भने शब्द प्रतीक पौडेलको रहेको छ । गीतमा सङ्गीत पुष्पन प्रधान र प्रतीक पौडेलको रहेको छ । यो गीतको भिडियोलाई सुदिप बरालले खिचेका हुन् ।

सुहाना इन्टरटेन्टमेन्टको ब्यानरबाट निर्मित ए मेरो हजुर ३लाई अभिनेत्री झरना थापाले निर्देशन गरेकी हुन् । चलचित्रलाई सुनिल कुमार थापाले निर्माण गरेका हुन् । यसबर्षको अन्त चैत्र २९ गते रिलिज हुने यो चलचित्रमा अनमोलको साथमा नायिका सुहाना थापाले डेव्यु गर्दैछिन् । यी दुईबाहेक चलचित्रमा सलोन बस्नेत, अर्पण थापा, रियर राई लगायतका कलाकारको अभिनय रहेको छ । चलचित्रको ट्रेलर र गीतहरूलाई दर्शकले रुचाएका छन् ।