Breaking News

Radio Star

जेठ ८, पाँचथर । मंगलबार राती पाँचथरको मिक्लाजुङमा दुई परिवारको वंश नास गर्नेगरी सामूहिक हत्या भयो । ९ जनाको हत्या गरिएको घटनास्थल निकै विभत्स थियो । यो हत्याकाण्ड कसले गरायो भन्ने यकिन तथ्य सार्वजनिक भइसकेको छैन । सरकारले सामूहिक हत्याकाण्डको सूक्ष्म रुपमा छानबिन भइरहेको र सत्यतथ्य पत्ता लगाई दोषीमाथि कारवाही गरिने आश्वासन दिएको छ । गृहमन्त्री रामबहादुर थापाले पाँचथरमा भएको सामूहिक हत्याकाण्डको सूक्ष्म रुपमा छानबिन भइरहेको र सत्यतथ्य पत्ता लगाई दोषीमाथि कारवाही हुने बताएका हुन् । हत्या हुनेहरुमा ३६ वर्षीया जस्मिता फियाक, ४१ वर्षीय धनराज शेर्मा, २६ वर्षीया मनकुमारी फियाक, ६ वर्षीया इक्सा शेर्मा, १३ वर्षीया योवना शेर्मा, आठ वर्षीया मुना शेर्मा, ७४ वर्षीय बमबहादुर फियाक, बमबहादुरकी श्रीमती र १२ वर्षीया आशिका खजुम लिम्बू रहेका छन् । १२ वर्षीया सीता खुजुम भने भागेर बाँच्न सफल भएकी छन् । उनी गम्भीर घाइते छिन् ।

९ जनाको विभत्स हत्यामा ज्वाइँ पर्ने मानबहादुर माखिमकै संलग्नता रहेको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुसन्धानमा खुल्न आएको छ । हत्यामा संलग्न रहेको आशंका गरिएका माखिम पनि घरभन्दा झण्डै दुई घण्टाको पैदल दुरीमा पर्ने लिम्बा गाउँमा रुखमा झुण्डिएको अवस्थामा मृत फेला परेका थिए । उनको शव रहेको स्थान नजिकै रगत पोतिएको अवस्थामा खुकरी र रगत लतपतिएकै कपडाहरु भेटिएपछि हत्यारा मानबहादुर नै हुन सक्ने आशंकामा बल पगेको हो । तर स्थानीयबासीले भने एक जनाले मात्रै २ परिवारका ९ जनाको हत्या गर्न नसक्ने दावी गरेका छन् । हत्याकाण्डमा मानबहादुर पनि संलग्न हुन सक्ने तर अरुले पनि साथ दिएको स्थानीयको आशंका छ । घटनास्थल पुगेका पवन भट्टराईसँग कुरा गर्दै स्थानीयले आत्महत्या गरेका मानबहादुरलाई मात्रै दोषी देखाएर छानविन तुहाउन नहुनेमा जोड दिएका छन् ।
एकै जनाले फरक फरक २ घरमा हत्याकाण्ड मच्चाउन सक्दैन भन्ने स्थानीयको ठहर छ । कुराकानीका क्रममा श्रीमतीसँगको डिभोर्सको कुरा चल्नु र विवाद भएको भन्ने कुरा सत्य भएको स्थानीयले बताए । हत्याकाण्डपछि अहिले स्थानीय बासी त्रसित छन् । कतिपयले त गाउँ छोडेर जान चाहेकोसमेत बताएको स्थानीयलाई उदृत गर्दै भट्टराईले बताए ।

प्रहरीले अहिले दुवै घरमा ताल्चा लगाएर राखेको छ । घटनास्थल पुग्दा भागेर ज्यान जोगाएकी सीतालाई आफ्नै घरमा आश्रय दिएकी स्थानीयले आफू रातभरी त्रासमा बसेको सुनाइन् । आफूहरुलाई पनि मार्ने हो कि भन्ने त्रासले रातभरी कष्ट भएको उनी बताउँछिन् । घटनास्थल पुगेका भट्टराईले हत्याकाण्ड भएको घरको अवस्था डरलाग्दो रहेको बताए । हत्याराले हतियार प्रयोग गर्न थालेपछि भागेर ज्यान जोगाउने प्रयास गरिएको हुन सक्ने घटनास्थलको प्रकृतिले देखाएको छ । ”जताततै रगत फैलिएको छ । मृतकमाथि हतियार प्रहार भएपछि बाँच्नका लागि धेरै प्रयास गरेको देखिन्छ ।“ भट्टराईले भने । घटना भएको २ घरको दुरी पैदल यात्रा गर्दा करिब १० मिनेटको रहेको छ । त्यसैगरी सबैभन्दा नजिकको प्रहरी कार्यालय पुग्न पैदल यात्राबाट एक घण्टा लाग्छ । यो हत्यालाई हप्ता दिन अघिको नुनमा सिसा मिसाइएको घटनासँग जोडेर हेरिएको छ । हत्या गरिएका मध्ये मुना शेर्मा, मनकुमारी फियाकले हप्तादिन अघि नै खाएको खानामा सिसायुक्त नुन मिसिएको पाइएको थियो । उनीहरू बिरामी परेपछि सिसायुक्त खाना खाएको फेला परेको थियो । नुनमा सिसा मिसाइएको कुरा पनि स्थानीयले सत्य भएको बयान दिएका छन् ।

भागेर बाँच्न सफल सीतालाई उपचार गराउने नर्स

 

स्थानीय

      

सिसा मिसाइएको नुन

 

तस्विर : पवन भट्टराई, पाँचथर , घटनास्थल

प्रकाशित मिति : ८ जेष्ठ २०७६, बुधबार १९:२७

सम्पर्क

विराट सन्देश डिजिटल अनलाईन

विराटनगर- ५, चादनी चोक

मोरङ, नेपाल

फोन नम्बर ०२१४६२८४३ 

मोबाईल- ९८४२०२०५४६, ९८६२०३७३४०

ईमेल-  [email protected]

हाम्रो समूह

१. शेखर रेग्मी- प्रधान सम्पादक
२. मीनकुमार नवोदित- सम्पादक
३. गोपाल पोखरेल- सह सम्पादक
४. सुशिला पाठक- कार्यकारी सम्पादक
५. धिरज दाहाल- समाचार संयोजक
६. सुशान्त रिजाल- प्रबन्ध निर्देशक
७. आशिष भट्टराई- निर्देशक

 

 

© 2019 Sakira Media Network Pvt. Ltd. | All Right Reserved.

Facebook