२२ साउन २०७७, बिहिबार
ताजा अपडेट Close

Birat Sandesh

शनिबार, आश्विन ११, २०७६ मा प्रकाशित

दिलकुमार घमाल
सल्लाहकार, गैरआवासीय नेपाल संघ, तिरोल, अष्ट्रिया
विगत दुई दशकदेखि अष्ट्रियको सुन्दर सहर इन्सवर्कमा बस्छन् दिलकुमार घमाल । उनी गैरआवासीय नेपाली संघ तिरोल अष्ट्रियाका सल्लाहकारसमेत हुन् । रेष्टुरेन्ट व्यवसायसँगै समाजसेवामा समेत सक्रिय छन् घमाल । नेपालबाट खाली हात गएका घमाल अहिले इन्सवर्कको प्रतिष्ठित रेष्टुरेन्ट व्यवसायीका रूपमा गनिन्छन् । इमान्दारिता, मेहनत र आत्मविश्वासकै कारण आफू आजको अवस्थामा आइपुगेको बताउने घमाल नेपालको विकास नभएकोमा भने चिन्ता व्यक्त गर्छन् । राजनीतिक नेतृत्वको असक्षमताकै कारण देशको विकास नभएको उनको दाबी छ । देशको विकासका लागि नेतृत्वसँग स्पष्ट भिजन, इच्छाशक्ति र इमान्दारिता हुनुपर्ने घमालको कथन छ । पोखरा जन्मथलो भएका दिलकुमार श्रीमती सोमत, १७ वर्षीय छोरा लेओनकुमार र २० महिनाकी छोरी दिवानीका साथ इन्सवर्कमा बस्छन् । रेष्टुरेन्ट व्यवसायमा छुट्टै पहिचान बनाइसकेका घमालसँग समसामयिक विषयमा गरेको कुराकानीको सार :

नेपालको अवस्थालाई कसरी हेरिरहनुभएको छ ?
विश्वको जुनसुकै कुनामा भए पनि देशको सम्झना नआउने नेपाली सायदै होलान् । जहाँ पुगे पनि मातृभूमिको मायाले सताउँदो रहेछ । आफ्नो श्रम र मेहनतले विदेशमा जतिसुकै सुख र आनन्दको जीवन व्यतीत गरे पनि नेपाली जनताले भोग्नु परेको पीडाले मनै चसक्क दुःख्छ । नेपालमा थुप्रै आन्दोलनहरू भए । आन्दोलनकै बलमा जहानियाँ राणा शासनको अन्त्य भयो । पञ्चायत हुँदै राजतन्त्रलाई समेत नेपाली जनताले फ्याले । आखिर आन्दोलनबाट नेपाली जनताले के पाए ? अब आन्दोलनको नेतृत्व गर्ने नेताहरूमाथि प्रश्न गर्ने बेला आएको छ । समृद्ध नेपाल सुखी नेपालीको नारा भाषणले मात्रै पूरा हुँदैन । काम गर्नुपर्छ । उडन्ते गफले नेपालको विकास हुन सक्दैन । आज झण्डै ५० लाख युवा विदेशमा छन् । अलिकति पढेलेखेका र हातमा सीप भएका युवाहरू देशमा बस्न चाहँदैनन् । युवा नभएको देश कस्तो होला । देश बनाउने बलियो पाखुरीले आज अरुको देश बनाइरहेका छन् । हामी जहाँसुकै भए पनि देशको अवस्थालाई नजिकबाट हेरिरहेका छौं ।

त्यसो भए विदेशमै बस्दा पनि देशको माया धेरै लाग्छ ?
आफ्नो मातृभूमिलाई माया नगर्ने को होला र ? हामी रहरले भन्दा पनि बाध्यताले विदेशमा छौं । देशको अवस्था राम्रो भइदिएको भए को चाहिं अरुको देशमा बस्न चाहन्छ र ? नेपालमा सरकारी कार्यालयबाट सानोभन्दा साना काम गराउन पनि सोर्स चाहिन्छ । नेताकै मान्छे हुनुपर्छ । घुस खुवाउनुपर्छ । नेताको चाकडी गर्नुपर्छ । सिस्टम छैन । अनि त्यस्तो देशमा बसेर के गर्नु ? जति पनि विदेशमा नेपालीहरू हुनुहुन्छ धेरैजसो बाध्यताले नै बसेका छन् भन्ने मलाई लाग्छ । तर, जहाँ जुन अवस्थामा भए पनि देशको माया चाहिं लाग्छ नै ।

नेपालको आर्थिक अवस्था सुधार नहुनुको कारण के जस्तो लाग्छ ?
राजनीतिक नेतृत्वको असक्षमता नै हो । धेरै टाढा जानु पर्दैन्, सिंगापुर, दक्षिण कोरिया, मलेसियाले ३०–४० वर्षमा कति विकास गरिसके । हामीले पञ्चायत फ्यालेको ३० वर्ष पुगिसक्यो । लु पञ्चायतमा विकास भएन । त्यसपछि त नेताहरूकै हातमा छ देश । अनि पञ्चायत फ्यालेपछि पनि राजातन्त्रका कारण देशको विकास भएन भनियो । अब त राजा पनि छैनन् । अब कसलाई दोष दिने ? सबै नेताहरूले नै देश बिगारेका हुन् भन्ने मलाई लाग्दछ । पार्टीभित्र सबै नेता खराब छन् भन्ने होइन । तर, जो नेतृत्वमा छ उसभित्र लोभ र देश बनाउने इच्छाशक्ति छैन भने कसको के लाग्छ र ? विश्वकै सुन्दर देश हो नेपाल । विद्युत निकाल्यो भने पैसै आउँछ । पर्यटकलाई भित्र्यायो भने पैसै आउँछ । पर्यटन र ऊर्जामा मात्रै राम्ररी विकास गर्ने हो भने धेरै त भन्दिन एक दशकमै मुलुक समृद्धि हुन्छ । तर, नेताहरू जनतालाई आश्वासन बाँडिरहेका छन् । जनता पनि आश्वासन पाएपछि मख्ख हुन्छन् । प्रधानमन्त्री केपी ओली हावाबाट बिजुली निकाल्न र पानीजहाज अनि रेलको कुरा गरिरहेका छन् । ए बाबा ! नेपालमा पानीजहाज किन आवश्यक प¥यो । रेल किन आवश्यक प¥यो त्यति सानो मुलुकमा । पहिला गरिबी र भोकमरीले आक्रान्त भएका जनतालाई पेटभरि खाने व्यवस्था मिलाउनु नि । अनि रोजगारीको खोजीमा विदेश पलायन भएका युवालाई स्वदेशमै रोजगारी सिर्जना गर्नु नि । किन हावादारी गफ गरेको होला भन्ने लाग्छ मलाई । जनता पनि त्यसैमा मख्ख छन् । कम्तिमा नेतालाई प्रश्न गर्नुप¥यो कि ट्रयाक पनि पानीजहाज ल्याएर कहाँ कुदाउँछौ ? नदी र खोलाको पानी बगेर गइरहेको छ हावाबाट किन बिजुली निकाल्नु प¥यो । बगेर गएको पानीबाटै निकाल भन्न सक्नुपर्छ जनताले ।

युरोपको सुन्दर देश अष्ट्रियामा हुनुहुन्छ, देश सम्झिँदा त विरक्त लाग्दो होला ?
अन्य युवाहरूजस्तै म पनि नेपालमा भविष्य नदेखेर करिब दुई दशकअघि यहाँ आएको हुँ । हुन त दुईपटक जर्मनी पनि आएको थिएँ । घुम्दै यहाँ आएपछि मलाई त यो ठाउँले मोहनी नै लगायो । नेपाल र अष्ट्रियाको भूवनोट झण्डैझण्डै उस्तै नै हो । यो पनि भूपरिवेष्ठित देश हो । तर, यहाँ सिस्टम छ । अनुशासन छ । सरकारले जनताको पीडालाई बुझ्छ । लगानीको वातावरण छ । मेहनत गर्नेलाई धेरै राम्रो छ । कहिलेकाहीं सोच्छु यो देशजस्तै नेपाल कहिले होला भनेर ? चिन्ता त लागिहाल्छ नि देश सम्झिँदा ।

युरोपमा बसेर लामो अनुभव बटुल्नु भएको छ । के गर्यो भने देश बन्छ भन्ने लाग्छ तपाईंलाई ?
युरोप होस् चाहे अमेरिका मान्छेले नै बनाएका हुन् । कुनै अर्को ग्रहबाट आएर विकास गरेका होइनन् । यहींका नेता र जनता मिलेर बनाएका हुन् । कम्तीमा एउटा पुस्ताले त्याग गर्नुपर्छ देश बनाउन । तर, नेपालमा कसले त्याग गर्ने ? केपी ओलीको को छ र भ्रष्टाचार गर्ने अनि पैसा कमाउने । उनीले साँच्चै इमान्दार भएर लागेको भए देश बनाउन सक्थे । अहिले दुई तिहाईको सरकार पनि छ । यति शक्तिशाली सरकार हुँदा पनि देश बन्ने लक्षण देखिएको छैन । बरु झनै भ्रष्टाचार, व्यापार घाटा, विकृति, विसंगति, बेरोजगारी समस्या बढेर गएको छ । कहिलेकाहीं विज्ञानकै कारण मान्छेले चन्द्रमामा टेकिसक्यो । कस्तोकस्तो प्रविधिको विकास गरिसक्यो । यो विज्ञानले हाम्रा नेताहरूको दिमाग परिवर्तन गरिदिए हुन्थ्यो भन्ने लाग्न थालेको छ । हुन त यो सम्भव छैन । औषधि खाएर बिरामी निको भए जस्तै कुनै औषधि बनोस् र नेतालाई खुवाएपछि उसको मनमा चाहिं देशको विकासबाहेक केही नहोस् । देश बनाउनेतिर मात्रै ध्यान जाओस् । त्यस्तो औषधि त नबन्ला । तर, म कामना गर्छु हाम्रो नेताको बुद्धि पलाउने औषधि बनोस् । देश बनाउन धेरै केही गर्नुपर्दैन । नेतृत्वमा बसेका व्यक्तिले स्वार्थलाई त्याग्नुपर्छ । भएका ऐन कानुनलाई कडाइका साथ कार्यान्वयन गर्नुपर्छ । देशलाई सिस्टमले चलाउनुपर्छ । शक्तिमा भएको बेला आफन्त, नातागोतालाई भर्ति गर्नुहुँदैन । तर, नेपालमा आफू मन्त्री भयो भने भाइ, भतिज, सालोलाई पीएमा राख्ने गरेको छ । अनि नेतृत्वसँग स्पष्ट भिजन हुनुपर्छ, भ्रष्टाचारलाई जरैदेखि फ्याल्नुपर्छ ।

इन्सवर्कमा प्रतिष्ठित व्यवसायीका रूपमा दुई दशकदेखि बसिरहँदा आफूलाई सन्तुष्ट भएको महसुस गर्नुभएको छ ?
मान्छे सन्तुष्ट त कहीं पनि हुन सक्दैन । तर, म भन्छु मान्छे जहाँ जुन अवस्थामा छ सन्तुष्ट हुनुपर्छ । रमाउन जान्नुपर्छ । अभाव र दुःखमा पनि हाँस्न सिक्नुपर्छ अनि मान्छे खुसी हुन्छ । म आफूलाई सन्तुष्ट नै पाउँछु । सेन्सी सुशी बार एण्ड रेष्टुरेन्ट र जयपुर गरी इन्सवर्कमा दुईवटा रेष्टुरेन्ट सञ्चालन गरिरहेको छु । दुवै जापानीज रेष्टुरेन्ट हुन् । दुवै रेष्टुरेन्ट सन् २०११ देखि लगातार अष्ट्रियाको उत्कृष्टमा पर्दै आएका छन् । अष्ट्रियामा उच्च तहका १ लाखभन्दा बढी रेष्टुरेन्ट छन् । १ लाखमध्ये हरेक वर्ष १६ हजार रेष्टरेन्टको गुणस्तरीयता, प्रदान गर्दै आएको सेवासुविधा, नमुना, सरसफाईलगायतका विषयमा स्थलगत अध्ययन हुने गरेको छ । त्यसमध्ये २ सय ६७ वटा उत्कृष्ट रेष्टुरेन्ट छनौट गरिन्छ । दुवै रेष्टुरेन्ट हरेक वर्ष उत्कृष्टमा पर्ने गरेका छन् । उत्कृष्ट भएबापत अवार्डसमेत प्रदान गरिँदै आएको छ । मेरा रेष्टुरेन्ट इन्सवर्कको मुटुमा अवस्थित छ । यो ठाउँ पाउनु नै मेराका लागि ठूलो कुरा हो । यो ठाउँ पाउन यहाँका स्थानीय व्यवसायीसमेत मरिहत्ते गर्छन् । यो नेपालको ठमेल जस्तै हो । जहाँ विश्वका पर्यटकहरू आउने गरेका छन् । रेष्टुरेन्टबाट मात्रै वार्षिक अष्ट्रिया सरकारलाई ७ करोड नेपाली रूपैयाँभन्दा बढी बराबर कर तिर्छु । यो अवस्था त्यतिकै सिर्जना भएको होइन । मैले धेरै नै मेहनत र संघर्ष गरेको छु । जीवनलाई सफल बनाउन फेरि पनि भन्छु मेहनत, इमान्दारिता, जिम्मेवारीबोध र आत्मविश्वास हुनुपर्छ । यी कुराहरूले असन्तुष्टिलाई पनि पुर्दै लान्छ ।

प्रस्तुति : मीनकुमार नवोदित

शनिबार, आश्विन ११, २०७६ मा प्रकाशित
अन्तरवार्ता संग मिल्दोजुल्दो
ताजा पोष्ट
लोकप्रिय पोष्ट
Facebook
हाम्रो समूह

१. शेखर रेग्मी- प्रधान सम्पादक
२. मीनकुमार नवोदित- सम्पादक
३. आशिष भट्टराई- निर्देशक

 

 

सम्पर्क

विराट सन्देश डिजिटल अनलाईन
विराटनगर- ५, चादनी चोक
मोरङ, नेपाल मोबाईल- ९८४२०२८०४९
ईमेल- [email protected]