१५ जेठ २०७७, बिहिबार
ताजा अपडेट Close
प्रदेश–१ उद्योग वाणिज्य महासंघको प्रदेश सरकारलाई सुझाव

‘कोरानाले थलिएको अर्थतन्त्रलाई माथि उकास्ने गरी बजेट ल्याऊ’

मीनकुमार नवोदित

शनिबार, जेठ १०, २०७७ मा प्रकाशित

विराटनगर, १० जेठ । लकडाउनका कारण थलिएका उद्योग व्यवसायलाई लक्षित गरेर बजेट ल्याउन नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश नम्बर १ ले प्रदेश सरकारसँग आग्रह गरेको छ ।
बढीभन्दा बढी रोजगारी सिर्जना गर्ने र आयातलाई प्रतिस्थापन गर्ने गरी बजेट ल्याउन महासंघले आग्रह गरेको हो । प्रदेश–१ का मुख्यमन्त्री शेरधन राईलाई महासंघ प्रदेश–१ का उपाध्यक्ष राजेन्द्र राउतले सुझाव दिँदै लकडाउनका कारण थपिएका उद्योग व्यवसायलाई पुनर्जीवन दिनेगरी बजेट ल्याउन आग्रह गरे । दुई महिनादेखिकोे लकडाउन तथा विश्वव्यापी आर्थिकमन्दीका कारण संकटमा रहेका कृषि तथा गैरकृषि उद्योगधन्दालाई पूर्ववत् अवस्थामा फर्काउने गरी राहतका प्याकेज ल्याउनसमेत महासंघले जोड दिएको छ । “आगामी दिनमा उत्पादन र रोजगारीको क्षेत्रलाई सम्बोधन गर्न आवश्यक आर्थिक राहतका साथै क्षमता विस्तारका लागि प्राविधिक, आर्थिक एवम् नीतिगत सहजीकरणका लागि आगामी वर्षको नीति तथा कार्यक्रममार्फत सम्बोधन गर्नुपर्नेमा महासंघको जोड छ,” राउतले भने ।
कृषिको आधुनिकीकरण र यान्त्रीकरणमार्फत बढीभन्दा बढी रोजगारी सिर्जना हुनुका साथै आयातलाई प्रतिस्थापन गर्न सकिने उनको भनाइ छ । “अब विदेशबाट रोजगारी गुमाएर ठूलो संख्यामा युवाहरू फर्किंदैछन्,” राउतले भने, “उनीहरूलाई सीपअनुसार रोजगारी दिने दायित्व सरकारको हो । जग्गाको चक्लाबन्दी गरेर सामूहिक खेतीलाई प्रोत्साहित गर्नुपर्छ ।” अन्य पेशा व्यवासयमा भन्दा कृषिबाट चाँडै प्रतिफल प्राप्त हुने उनको भनाइ । कृषि उत्पादन वृद्धि गरी आयातलाई प्रतिस्थापन गर्न सकिए रेमिट्यान्स घट्दा पनि मुलुकको अर्थतन्त्रलाई फरक नपर्ने राउतले बताए । उनले कोरोनाले पारेको प्रभावलाई ध्यान दिएर मुलुकको वास्तविक धरातलमा उभिएर बजेट ल्याउन उनको सुझाव छ ।
पर्यटन क्षेत्र नराम्ररी प्रभावित भएको सन्दर्भमा निजी क्षेत्र, पर्यटन व्यवसायीसमेतलाई पुनर्उद्धार, पुनस्र्थापना र विस्तार गर्न पर्यटन प्रवद्र्धनका नयाँ क्षेत्र, पूर्वाधार विकास र लगानी अभिवृद्धिका लागि सार्वजनिक–निजी साझेदारीमार्फत कार्यक्रमहरू अघि बढाउन महासंघले सुझाव दिएको छ । प्रदेश सरकारलाई महासंघले ११ बुँदे सुझाव दिएको छ । विगतका प्रमुख योजनालाई निरन्तरता दिंदै कार्यान्वयनमुखी बजेट ल्याउनुपर्नेमा समेत महासंघले जोड दिएको छ । बजेटमा राम्रा–राम्रा नीति तथा कार्यक्रम आए पनि कार्यान्वयन नहुँदा उद्योगी व्यवसायीहरू निराश हुने गरेको उपाध्यक्ष राउतको कथन छ । “हरेक वर्षका बजेटमा अत्यन्तै राम्रा नीति तथा कार्यक्रम समेटिन्छन्,” राउतले थपे, “तर कार्यान्वयन हुँदै । यसले गर्दा व्यवसायीमा मात्रै होइन जनतामा निराशा उत्पन्न भइरहेको छ ।”
प्रदेश कृषि, जलविद्युत, उद्योग व्यापार, स्वास्थ्य, पर्यटन, शिक्षालगायत प्राथमिकमा पारी यसको विकासका लागि मानव संशाधन विकास र पूर्वाधार निर्माण गर्न आवश्यक रहेको महासंघले बुझाएको सुझावमा उल्लेख छ । प्रदेशको समग्र आर्थिक समृद्धिका लागि निजी क्षेत्रलाई कृषि, पर्यटन, जडिबुटी, जलस्रोत, उद्योगधन्दा, बजार पूर्वाधारलगायतका क्षेत्रमा लगानी प्रोत्साहन, सहभागिता र साझेदारीका लागि आवश्यक नीतिगत सुधार, सम्बोधन र व्यवस्था गर्न पहल गर्नसमेत महासंघले आग्रह गरेको छ । “हुन त कोरोनाले हरेक क्षेत्र प्रभावित भएको छ,” उपाध्यक्ष राउतले भने, “अहिले निजी क्षेत्र अप्ठ्यारो अवस्थामा छ । यो कुरा राज्यले बुझ्नु जरुरी छ

शनिबार, जेठ १०, २०७७ मा प्रकाशित
अर्थ संग मिल्दोजुल्दो
ताजा पोष्ट
लोकप्रिय पोष्ट
Facebook
हाम्रो समूह

१. शेखर रेग्मी- प्रधान सम्पादक
२. मीनकुमार नवोदित- सम्पादक
३. आशिष भट्टराई- निर्देशक

 

 

सम्पर्क

विराट सन्देश डिजिटल अनलाईन
विराटनगर- ५, चादनी चोक
मोरङ, नेपाल मोबाईल- ९८४२०२८०४९
ईमेल- [email protected]