२७ साउन २०७७, मंगलबार
ताजा अपडेट Close
विराटनगरमा छोरी बचाऊ अभियान प्रभावकारी बन्दै

चालु आर्थिक वर्षमा १ सय ६५ जनालाई प्रोत्साहन रकम हस्तान्तरण

Birat Sandesh

मंगलबार, जेठ २०, २०७७ मा प्रकाशित

विराटनगर, २० जेठ । विराटनगर महानगरपालिकाले अघि सारेको उपमेयर परियोजनाअन्तर्गत ‘छोरी बचाऊ’ अभियान प्रभावकारी बनेको छ ।
भु्रण हत्यालाई न्यूनीकरणका लागि महानगरले अघि सारेको यो अभियान निकै नै प्रभावकारी बनेको सरोकारवालाहरूले समेत बताउँदै आएका छन् । अभियान सञ्चालनपछि गर्भपतनको क्रमसमेत घटेको बताइएको महानगरको दाबी छ ।
भिडियो एक्स–रे मार्फत छोरी भएको थाहा पाएपछि गर्भपतन गराउने क्रम बढेपछि महानगरपालिकाले यो अभियान सञ्चालन गरेको हो । गर्भमा छोरी भएको थाहा पाएपछि गर्भपतन गराउँदा महिलाको ज्यानसमेत जोखिममा पर्ने गरेको थियो । ‘छोरी बचाऊ’ अभियान सञ्चालनपछि महानगरभित्र गर्भपतन गर्ने क्रम घटेको उपमेयर इन्दिरा कार्कीले बताइन् । अभियानअन्तर्गत पहिलो सन्तान छोरी जन्माउने आमालाई ३ हजार सुत्केरी खर्चबापत दिने गरिएको छ । त्यस्तै दोस्रो सन्तान पनि छोरी भएमा २५ हजार प्रोत्साहन रकम उपलब्ध गराउँदै आएको छ । २५ हजार आमा संरक्षक भएर खोलिएको छोरीको खातामा जम्मा गरिदिने गरिएको उपमेयर कार्कीले जानकारी दिइन् । “यो २५ हजार उसले एसईई दिइसकेपछि मात्रै निकाल्न पाउने व्यवस्था छ,” कार्कीले भनिन्, “मुद्दतीमा जम्मा हुने भएकाले उच्च शिक्षा अध्ययन गर्न निकै सहयोग पुग्नेछ ।” यो रकम छोरीको उच्च शिक्षाका लागि प्रयोग गर्नुपर्नेछ । जुन रकम छोरी १६ वर्ष पुगेपछि मात्रै निकाल्न पाइने कार्कीले बताइन् । नारी शिक्षित भए घर–परिवार शिक्षित हुने बताउँदै उनले समाज शिक्षित भए देश पनि शिशित हुने बताइन् । यसैलाई ध्यानमा राखेर महानगरले छोरी बचाऊ अभियान थालेको उनको भनाइ छ ।
शिक्षित परिवारले समेत भिडियो एक्सेरे गरेर छोरी भए गर्भपतन गराउने गरेको उनले दाबी गरिन् । जसले गर्दा आमाको समेत ज्यान जोखिममा पर्ने गरेको कार्कीले सुनाइन् । समाजलाई शिक्षित बनाउन छोरीको ठूलो भूमिका रहेको विराटनगर महानगरपालिका वडा नंः १ का वडाअध्यक्ष उद्धव अर्यालले बताए । उनले महानगरपालिकाले उपमेयर परियोजनाअन्र्तगत छोरी बचाऊ अभियान निकै नै प्रभावकारी बनेको सुनाए । महानगरपालिकाले उपमेयर परियोजनाअन्र्तगत छोरी बचाऊ अभियान आर्थिक वर्ष २०७४÷७५ देखि सुरु गरेको हो । यस अभियानअन्तर्गत महानगरपालिका क्षेत्रभित्र बसोबास गर्नेका लागि पहिलो सन्तान छोरी पाउनेलाई प्रोत्साहन रकम स्वरुप ३ हजार र दोस्रो सन्तान पाउनेलाई उच्च शिक्षा हासिल गर्न २५ हजार दिने निर्णय रहेको छ । जसका लागि महानगरपालिकाले उपमेयर परियोजनाअन्र्तगत कोषको स्थापना गरेको छ । परियोजनाअन्र्तगत छोरी बचाऊ अभियान अति प्रभावकारी रहेको स्थानीय विनिता गेलालको भनाइ छ ।
यसैबीच, महानगरपालिकाले वडा नम्बर १, २, ३ र ४ का पहिलो सन्तान छोरी जन्माउने १४ जनालाई प्रोत्साहनबापत नगद ३ हजार रुपैयाँ हस्तान्तरण गरेको छ । त्यस्तै दोस्रो सन्तान जन्माउने ३ जनालाई पनि जनही २५ हजारको चेक हस्तान्तरण गरिएको थियो । महानगरपालिकाले चालु आर्थिक वर्षको हालसम्म पहिलो सन्तान छोरी जन्माउने ७९ जनालाई नगद र दोस्रो सन्तान जन्माउने ८६ जनालाई चेक हस्तान्तरण गरेको छ ।

मंगलबार, जेठ २०, २०७७ मा प्रकाशित
बिराटनगर खबर संग मिल्दोजुल्दो
Facebook
हाम्रो समूह

१. शेखर रेग्मी- प्रधान सम्पादक
२. मीनकुमार नवोदित- सम्पादक
३. आशिष भट्टराई- निर्देशक

 

 

सम्पर्क

विराट सन्देश डिजिटल अनलाईन
विराटनगर- ५, चादनी चोक
मोरङ, नेपाल मोबाईल- ९८४२०२८०४९
ईमेल- [email protected]