२६ साउन २०७७, सोमबार
ताजा अपडेट Close
प्रदेश सरकारलाई अर्थशास्त्री र उद्योगीको सुझाव

‘कोरोनाबाट थलिएको अर्थतन्त्र माथि उकास्ने गरी बजेट ल्याऊ’

मीनकुमार नवोदित

मंगलबार, जेठ २०, २०७७ मा प्रकाशित

विराटनगर, २० जेठ । बढीभन्दा बढी रोजगारी सिर्जना हुने र आयात प्रतिस्थापन गर्ने कृषि क्षेत्रलाई प्रमुख प्राथमिकतामा राखेर बजेट ल्याउन अर्थविद् र उद्योगीहरूले प्रदेश सरकारलाई सुझाव दिएका छन् ।
नेपाली कांग्रेस प्रदेश–१ संसदीय दलले बनाएको सुझाव संकलन समितिले मंगलबार विराटनगरमा आयोजना गरेको छलफलमा अर्थविद् र उद्योगीहरूले स्वास्थ्य, कृषि र पर्यटनलाई प्राथमितामा राखेर बजेट ल्याउन सुझाव दिएका हुन् । उनीहरूले कोरोनाले थलिएको अर्थतन्त्रलाई माथि उकास्ने गरी बजेट ल्याउनुपर्नेमा जोड दिए ।
अर्थशास्त्री डा. भेषप्रसाद धमलाले बजेट स्वास्थ्य केन्द्रित भए पनि आन्तरिक उत्पादन, खपत र व्यापार केन्द्रित हुनुपर्ने सुझाव दिए । कृषि उत्पादकत्व वृद्धि र आत्मनिर्भर हुने दिशामा केन्द्रित हुनुपर्नेमा उनको जोड थियो । “अहिलेको अवस्था भनेको तत्कालै रोजगारी दिने र प्रतिफल प्राप्त हुने क्षेत्र भनेको कृषि नै हो,” उनले भने, “कृषि उत्पादकत्व वृद्धि गर्न सकियो भने जीडीपी पनि बढ्छ ।” उनले कृषिलाई निर्वाहमुखीमाथि माथि उठाएर व्यावसायिक बनाउनुपर्नेमा जोड दिए । उनले कृषिलाई उद्योगसँग जोड्नु आवश्यक रहेको औंल्याए ।
अर्का अर्थविद् बलराम पौडेलले बढीभन्दा बढी रोजगारी सिर्जना हुने क्षेत्रको पहिचान गरी बजेट विनियोजन गर्नुपर्नेमा जोड दिए । उनले बजेटलाई वितरणमुखी नबनाई तत्कालै प्रतिफल प्राप्त हुने क्षेत्रमा विनियोजन गर्न सुझाव दिए । कृषि विज्ञ हरि भण्डारीले कृषिको खण्डीकरण रोकेर कृषक आफैंले बिउ उत्पादन गर्ने अवस्था सिर्जना गर्नुपर्ने बताए । पौडेलले वैदेशिक रोजगारीका कारण मुलुकको कृषि क्षेत्र पछाडि परेको चर्चा गर्दै भने, “कोरोनाका कारण अब रोजगारी गुमाएर युवाहरू धमाधम फर्किन्छन् । उनीहरूलाई रोजगारी दिनेगरी बजेट ल्याउनुपर्छ ।”
कांग्रेस केन्द्रीय सदस्यसमेत रहेका उद्योगी पवनकुमार सारडाले निजी क्षेत्रलाई प्रोत्साहित गर्ने गरी प्रदेश सरकारले बजेट ल्याउनुपर्नेमा जोड दिए । संघीय सरकारले ल्याएको बजेटले निजी क्षेत्रलाई उपेक्षा गरेको उनको कथन थियो । शिक्षाविद् कविराज न्यौपानेले शिक्षा क्षेत्रको अवस्था अब के हुने भन्ने चिन्ता बढेको भन्दै निजी तथ सामुदायिक विद्यालयलाई पूर्ववत् सञ्चालन हुन सक्ने गरी बजेटले प्राथमिकता दिनुपर्ने सुझाव दिए । मोरङ व्यापार संघका अध्यक्ष प्रकाश मुन्दडाले उद्योग र व्यापार क्षेत्र थला पर्ने अवस्था आए पनि संघीय बजेटले खासै धेरै विषय नसमेटेको भन्दै प्रदेश सरकारले यसबारे ध्यान दिनुपर्नेमा जोड दिए । मुन्दडाले सगरमाथासम्म पुग्ने स्तरीय सडक निर्माण गर्न सुझाए । “विराटनगरबाट नजिकै रहेको पूर्णियामा अन्तर्राष्ट्रियस्तरको विमानस्थल बन्दैछ । त्यहाँ आउने तेस्रो मुलुकका पर्यटक सगरमाथा जान चाहन्छन्, मुन्दडाले भने, “यसले गर्दा विराटनगरदेखि सगरमाथा जाने सडक बनाउनेतर्फ बजेटले ध्यान दिनुपर्छ ।” उनले क्रस बोडर औद्योगिक ग्राम बनाउनसमेत जोड दिए । उनले औद्योगिक ग्राममा सस्तोमा बिजुली, ऋण उपलब्ध भए भारतीय उत्पादनसँग प्रतिस्पर्धा गर्न सहज हुने बताए ।
छलफलमा कांग्रेस केन्द्रीय सदस्य डा. शेखर कोइरालाले संघीय सरकारले ल्याएको बजेटले स्वास्थ्य क्षेत्रलाई प्राथमिकता दिए पनि आर्थिक वृद्धिको आँकलन मनोगत भएको दाबी गरे । कोरोना कहरका कारण देशको आर्थिक क्षेत्र नै थिलथिलो बन्न थालेको उनले बताए । कोइरालाले स्वास्थ्यलाई प्राथमिकतामा राखेर निर्मम मितव्ययितता अपनाउन प्रदेश सरकारलाई सुझाव दिए । अर्का केन्द्रीय सदस्य अमृत अर्यालले लकडाउनको मोडल परिवर्तन गरी अब आर्थिक वृद्धि ऋणात्मक हुन नदिने गरी बजेट कार्यान्वयन हुनपर्ने भन्दै प्रदेशको बजेट विगत वर्षभन्दा घटेर आउने बताए । उनले कृषि, उद्योग, कलकारखाना र सेवाका क्षेत्रहरूलाई बचाउने गरी बजेट ल्याउन सुझाव दिए । कांग्रेस संसदीय दलका नेता राजीव कोइराला, प्रमुख सचेतक केदार कार्कीले प्रदेश सरकारले ल्याउने बजेटका कार्यक्रमहरू परम्परागत शैलीकै हुने गरेकाले अहिलेको बदलिएको परिस्थितिमा त्यसलाई व्यावहारिक बनाउन आवश्यक रहेकोमा जोड दिए । सुझाव संकलन समितिका संयोजकसमेत रहेका सांसद शेखरचन्द्र थापाले प्राप्त सबै सुझावलाई कांग्रेसले आधिकारिक रूपमा प्रदेश सरकारलाई दिने बताए । प्रदेश सरकारले आउँदो असार १ गते आगामी आर्थिक वर्षको बजेट ल्याउँदैछ । चालु आर्थिक वर्षमा प्रदेश सरकारले ४२ अर्ब २० करोड रूपैयाँ बराबरको बजेट ल्याएको थियो । तर, आगामी आर्थिक वर्षको बजेटको आकार ३६ अर्ब ननाघ्ने बताइएको छ ।

मंगलबार, जेठ २०, २०७७ मा प्रकाशित
अर्थ संग मिल्दोजुल्दो
Facebook
हाम्रो समूह

१. शेखर रेग्मी- प्रधान सम्पादक
२. मीनकुमार नवोदित- सम्पादक
३. आशिष भट्टराई- निर्देशक

 

 

सम्पर्क

विराट सन्देश डिजिटल अनलाईन
विराटनगर- ५, चादनी चोक
मोरङ, नेपाल मोबाईल- ९८४२०२८०४९
ईमेल- [email protected]