२७ साउन २०७७, मंगलबार
ताजा अपडेट Close
विदेशबाट फर्किएर कृषिमा लागेका युवाको पीडैपीडा

प्रशासनले पास नदिँदा उत्पादित वस्तु बजार लान समस्या

मीनकुमार नवोदित

बुधबार, जेठ २८, २०७७ मा प्रकाशित

सुनसरी, २८ जेठ । सरकारले लकडाउनको समयमा पनि कृषिजन्य उत्पादन सहज रूपमा बजारसम्म पु¥याउन दिने भने पनि वास्तविकता त्यस्तो छैन । कृषि उत्पादन बजारसम्म पु¥याउन स्थानीय तहले गरेको सिफारिसलाई बेवास्ता गर्दै जिल्ला प्रशासनले पाससमेत नदिने गरेको पाइएको छ । प्रशासनले पास नदिएकै कारण सुनसरीको बराहक्षेत्र–५ मा विदेशबाट फर्किएका युवाले उत्पादन गरेका स्थानीय जातका कुुखुरा खोरमा लगाएको ७ महिना बित्दा पनि बिक्री हुन सकेको छैन ।
मोरङ डाँगीहाटका नरबहादुर कटवालले ९ महिना अघि सुनसरीको बराहक्षेत्र नगरपालिका वडा नम्बर ५ मा कुखुरा फर्म सुरु गरे । त्यो पनि उपभोक्तामाझ अत्यधिक माग रहेको स्थानीय जातको कुखुरा । १४ वर्षसम्म विदेशमा बस्दाको पीडाका कारण स्वदेशमै केही गरौं भन्ने उत्साहका साथ स्थानीय जातको कुखुरा पालन व्यवसाय सुरु गरेका थिए कटवालले । तर, दुई महिनाभन्दा लामो समयदेखि जारी लकडाउनका कारण कटवालको उत्साह यतिबेला निराशामा परिणत भएको छ । चार महिनाभित्र बिक्री गरिसक्नुपर्ने कुखुरा ७ महिनासम्म पनि बिक्री हुन सकेको छैन । जसका कारण हरेक दिनजसो लागत बढ्दै जाँदा लगानी पनि नउठ्ने चिन्ताको जाँतोमा उनी पिसिएका छन् । अझ दाना नपाउँदा थप समस्या झेल्नुपरेको उनको भनाइ छ । “बजारमा दानाको चरम अभाव छ,” उनले भने, “खोरमा लगाएको ४ महिनाभित्रै बिक्री गर्दा राम्रै मुनाफा हुन्थ्यो । तर, अहिले ७ महिनाभन्दा बढी भयो खोरमा लगाएको । जसका कारण दाना खुवाएर पाल्नुपरेको छ ।”
५ बिघा जमिन लिजमा लिएर कुखुरा फर्म सुरु गरेका कटवालको फर्ममा हाल १२ सय कुुखुरा छन् । उत्पादित कुखुरा बजारसम्म पु¥याउन नगरपालिकाले सिफारिस दिए पनि जिल्ला प्रशासन कार्यालयले पास उपलब्ध नगराएको उनको गुनासो छ । “स्थानीय तहले बजारसम्म पु¥याउन सिफारिस दिन्छ । अनि त्यो सिफारिसलाई जिल्ला प्रशासनले मान्दैन,” उनले दुखेसो पोख्दै भने, “सबै स्वास्थ्य सुरक्षा अपनाएर बजार पु¥याउने प्रतिबद्धता जनाउँदा पनि जिल्ला प्रशासनले पास दिन सकिँदैन भन्यो ।”
उनले विदेशबाट फर्किएर उत्साहका साथ व्यवसाय सुरु गरे पनि अहिले निराश हुनुपर्ने अवस्था आएको सुनाए । बिक्री गर्न प्रशासनबाट पास नपाउँदा र बजारमा दानाको समेत अभाव हुँदा कुखुराको तौलसमेत घटेको कटवालले दुखेसो पोखे । कटवालले अहिले कुखुराको सास मात्रै बचाउने काम गरिरहेको बताए । दाना अभावमा भोकले रन्थनिएका कुखुरा कटवालले चारो छर्ने बित्तिकै तँछाडमछाड गर्दै चारो खाना झुम्मिन्छन् । “लकडाउनभन्दा अगाडि २ किलोभन्दा बढी तौल पुगेको थियो,” अर्का व्यवसायी पदम कार्कीले भने, “अहिले त कुखुराको तौल १ किलो ५ ग्राममा झरेको छ । सास बचाउने काम मात्रै भइरहेको छ ।”
कटवालसहित विदेशबाट फर्किएका पदम कार्की, निरोज कार्की, केशव खड्का र योगेन्द्र भट्टराईले यो फर्म सञ्चालन गरेका हुन् । कोही कतार, कोही दुबई र कोही दक्षिण अफ्रिकामा एक दशकदेखि डेढ दशकसम्म लामो समय पसिना बगाएर फर्किएका युवा हुन् । उनीहरूको योजना कुखुरामा मात्रै सीमित छैन । उन्नत जातको बाख्रा र टर्कीका लागि बनाउन सुरु गरेको खोर पनि लकडाउनले अधुरै रहेको छ । कुखुराका साथै माछा, बंगुर, हाँस, बट्टाई, टर्की, गाई पनि पाल्ने योजना रहेको उनले सुनाए । हालसम्म फर्ममा २५ लाख रूपैयाँ लगानी भइसकेको छ । पहिलो लटकै कुुखुरा बिक्री नभएकाले एक रूपैयाँ पनि लगानी नउठेको कटवालले बताए । “यो कुखुरा बिक्री गर्न पाएको भए अर्को लटसमेत तयार भइसकेको हुन्थ्यो अहिलेसम्म,” कार्कीले थपे, “चार–चार महिनामा कुखुरा उत्पादन गर्ने योजना थियो ।” अझ अण्डा र चल्लासमेत फर्ममै उत्पादन गर्ने योजना छ उनीहरूको । ५ बिघामध्ये आधाभन्दा बढीमा मकैसमेत लगाएका छन् । त्यही मकैबाट आफैंले मेसिन ल्याएर चारो उत्पादन गर्ने योजना रहेको अर्का व्यवसायी योगेन्द्र भट्टराईले सुनाए ।
विदेशबाट फर्किएर कृषि कर्ममा लागेका युवालाई उत्साहित बनाउन सरकारले बजारीकरण गर्न पहल गर्नुपर्ने युवा अभियानकर्मी नवराज काफ्ले बताउँछन् । कुखुरा बिक्रीका लागि सहजीकरण गरिरहेका काफ्लेले प्रश्न गर्दै भने, “यस्तो अवस्थामा कसले कृषिमा लगानी गर्छ ?”उनकै शब्दमा अब सरकारले बोलेर होइन गरेर देखाउने बेला आएको छ । “कुुखुराको मासुमात्रै होइन अन्य कृषि उत्पादन बजारमा अभाव छ यतिबेला,” काफ्लेले भने, “तर, कृषकले लाखौं लगानी गरेर उत्पादन गरेका उत्पादन बिक्री नभएर लगानी डुबेर पेशाबाटै पलायन हुनुपर्ने अवस्था सिर्जना भएको छ ।” खोरबाट जिउँदो प्रतिकिलो ५ सय ५० रुपैयाँमा बिक्री हुने कुखुराको मासु बजारमा ७ रुपैयाँ पर्छ ।

बुधबार, जेठ २८, २०७७ मा प्रकाशित
अर्थ संग मिल्दोजुल्दो
Facebook
हाम्रो समूह

१. शेखर रेग्मी- प्रधान सम्पादक
२. मीनकुमार नवोदित- सम्पादक
३. आशिष भट्टराई- निर्देशक

 

 

सम्पर्क

विराट सन्देश डिजिटल अनलाईन
विराटनगर- ५, चादनी चोक
मोरङ, नेपाल मोबाईल- ९८४२०२८०४९
ईमेल- [email protected]