२७ साउन २०७७, मंगलबार
ताजा अपडेट Close

मीनकुमार नवोदित

बुधबार, आषाढ १०, २०७७ मा प्रकाशित

विराटनगर, १० असार । विराटनगर महानगरपालिकाले आगामी आर्थिक वर्षका लागि चालु आर्थिक वर्षभन्दा झण्डै पौने २ अर्ब रुपैयाँ कमको बजेट सार्वजनिक गरेको छ । प्रदेश प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’को उपस्थितिमा बुधबार महानगरपालिकाले आर्थिक वर्ष ०७७÷७८ का लागि ३ अर्ब ३७ करोड ८१ लाख १० हजार रुपैयाँको बजेट सार्वजनिक गरेको हो । जुन चालु आर्थिक वर्षको भन्दा १ अर्ब ७४ करोड ४९ लाख ८० हजार कम हो । चालु आर्थिक वर्षका लागि महानगरले ५ अर्ब १२ करोड ३० लाख ९० हजार रुपैयाँको बजेट ल्याएको थियो ।
बजेट सार्वजनिक गर्दै महानगरपालिकाकी उपमेयर इन्दिरा कार्कीले कोरोना महामारीका कारण विराटनगरको आगामी आर्थिक वर्षको बजेट प्रभावित भएको बताइन् ।
कार्कीका अनुसार आगामी आर्थिक वर्षका लागि आन्तरिक आम्दानीतर्फ ८९ करोड ८२ लाख ९६ हजार, राजस्व बाँडफाँटबापत ७६ करोड ८२ लाख, वित्तीय समानीकरण तर्फबाट ३८ करोड ७ लाख ६८ हजार, संघीय सरकार ससर्त अनुदानतर्फ १ अर्ब २ करोड ९ लाख, प्रदेश सरकार ससर्त अनुदानतर्फ २ करोड १० लाख ९ हजार रुपैयाँ प्राप्त हुने अनुमान महानगरपालिकाले गरेको छ । यस्तै संघीय सरकार विशेष अनुदानतर्फ १३ करोड, प्रदेश सरकार समपुरक अनुदानतर्फ ३ करोड, वैदेशिक र अन्य संघसंस्था अनुदानतर्फ ३ करोड २६ लाख, जनसहभागिताबापत ९ करोड ६२ लाख ५ हजार प्राप्त हुने अनुमान छ । यस्तै महानगरपालिकाको प्रशासनिक खर्चतर्फ ३४ करोड १९ लाख ५० हजार, सामाजिक सुरक्षातर्फ ३६ करोड, फोहोरमैला व्यवस्थापन तथा ल्याण्डफिल साइडको जग्गा खरिदतर्फ ११ करोड ४९ लाख ५० हजार रुपैयाँ बजेट विनियोजन गरिएको छ । नगर स्वास्थ्यतर्फ १९ करोड ५७ लाख, शैक्षिक विकास कार्यक्रमतर्फ ५६ करोड १३ लाख, युवा विकास तथा खेलकुदतर्फ २ करोड ९ लाख, अन्य कार्यक्रमतर्फ ६ करोड रुपैयाँ विनियोजन गरेको छ । यस्तै भौतिक पूर्वाधारलगायत पूँजीगत खर्च १ अर्ब ७१ करोड ७९ लाख ६५ हजार रुपैयाँ विनियोजन गरिएको उपमेयर कार्कीले जानकारी दिइन् । नगरसभामा महानगरका मेयर भीम पराजुलीले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गरे । नीति तथा कार्यक्रम प्रस्तुत गर्दै पराजुलीले महानगरलाई पूर्वाधारका हिसाबले प्रदेश राजधानीका लागि आवश्यक पूर्वाधारहरू विकास गर्न क्षेत्रगत गुरुयोजना तयार पारिने बताए । उनले एशियाली विकास बैंकसँग विराटनगरको फोहोरमैला व्यवस्थापनलगायत थप पूर्वाधार विकासका लागि महानगरपालिकाले तेस्रो चरणको परियोजना कार्यान्वयनका लागि पहल थाल्ने बताए । महानगरपालिकाले ठोस र ठूला योजनालाई प्राथमिकतामा राखेर टुक्रे योजनालाई निरुत्साहित गर्ने नीति लिएको उनको भनाइ थियो । पराजुलीले चालु आर्थिक वर्षकै धेरैजसो योजनाहरूलाई निरन्तरता दिनेगरी बजेट ल्याइएको बताए ।
महानगरको आर्थिक विकासका लागि अत्यावश्यक विशेष आर्थिक क्षेत्र, सुख्खा बन्दरगाह, क्षेत्रीय अन्तर्राष्ट्रियस्तरको हवाई मैदान विस्तार, रिङरोड, बाइपास सडक, व्यावसायिक भवन, प्रादेशिक सभाहल, रंगशाला, आधुनिक कृषिबजार, संग्रहालय जस्ता पूर्वाधार विकासका लागि विभिन्न निकायहरूसँग पहल गर्ने मेयर पराजुलीले उल्लेख गरे । “ऐतिहासिक विराट राजा दरबार संरक्षण सम्वद्र्धन गरी विश्व सम्पदा सूचीमा सूचीकृत गर्न पहल गरिनेछ,” मेयर पराजुलीले भने, “संघ, प्रदेशको विशेष सहयोगमा ऐतिहासिकता झल्कने गरी निर्माण गर्न मास्टर प्लानअनुसारको आधारमा काम सुरु गर्ने योजना छ ।” पराजुलीले कोभि–१९ का कारण चालु आर्थिक वर्षको भन्दा बजेटको आकार घटाउनुपरेको प्रस्ट पारे ।
कार्यक्रममा प्रदेश प्रमुख सोमनाथ अधिकारी, संघीय सांसद अमनलाल मोदी, सामाजिक विकासमन्त्री जीवन घिमिरे, नेपाली कांग्रेस प्रदेश–१ का प्रमुख सचेतक केदार कार्कीलगायतले बजेट कार्यान्वयनमा जोड दिए । कार्यक्रममा प्रजातन्त्र सेनानीहरू रमाप्रसाद रिजाल, तोरेन्द्रमानसिंह प्रधान, शिवदत्त भट्टराईलगायतलाई सम्मान गरिएको थियो । महानगरपालिकाले आगामी आर्थिक वर्षदेखि प्रजातन्त्र सेनानीहरूलाई मासिक २ हजार ५ सय निर्वाह भत्तासमेत उपलब्ध गराउने मेयर पराजुलीले जानकारी गराए ।

बुधबार, आषाढ १०, २०७७ मा प्रकाशित
मुख्य समाचार संग मिल्दोजुल्दो
Facebook
हाम्रो समूह

१. शेखर रेग्मी- प्रधान सम्पादक
२. मीनकुमार नवोदित- सम्पादक
३. आशिष भट्टराई- निर्देशक

 

 

सम्पर्क

विराट सन्देश डिजिटल अनलाईन
विराटनगर- ५, चादनी चोक
मोरङ, नेपाल मोबाईल- ९८४२०२८०४९
ईमेल- [email protected]