०८ आश्विन २०७७, बिहिबार
ताजा अपडेट Close
औद्योगिक क्षेत्रका उद्योगको ६० प्रतिशत उत्पादन कटौती

स्वास्थ्य सुरक्षा पालना गरेर सबै व्यवसाय सञ्चालन गर्न सुझाव

मीनकुमार नवोदित

बुधबार, भाद्र १७, २०७७ मा प्रकाशित

विराटनगर, १७ भदौ । निरन्तरको लकडाउन र निषेधाज्ञाका कारण मोरङ–सुनसरी औद्योगिक क्षेत्रका उद्योगहरूले ६० प्रतिशतसम्म उत्पादन कटौती गरेका छन् ।
नियमित मजदुर नआउँदा, कच्चापदार्थको अभाव, उत्पादित वस्तुको ढुवानीलगायतका कारण उद्योगहरूले उत्पादन कटौती गरेका हुन् । कोरोनाको त्रासका कारण मजदुरहरू एकदमै कम काममा आइरहेका छन् । काममा आउने मजदुरलाई पनि प्रहरीले फर्काउने गरेको छ । अझ कच्चा पदार्थको अभाव हुँदा उत्पादनमा प्रभाव परेको छ । यो क्षेत्रका अधिकांश उद्योगले भारत र तेस्रो मुलुकबाट कच्चापदार्थ आयात गर्दै आएका छन् । “अहिले यो क्षेत्रका उद्योगको उत्पादन ४० प्रतिशतमात्रै छ,” उद्योग संगठन मोरङका अध्यक्ष भीम घिमिरेले भने, “चाहँदाचाहँदै पनि उत्पादन बढाउन सकेका छैनौं । मजदुर आउँदैनन् । कच्चापदार्थ छैन । उत्पादित वस्तु उपभोक्तासम्म पु¥याउन समस्या छ ।”
मुलुकको अर्थतन्त्रलाई असफल हुन नदिन अब स्वास्थ्य सुरक्षा पालना गर्दै उद्योग व्यवसाय क्रमशः सुचारु गर्नुपर्ने उद्योगीहरूको सुझाव छ । अध्यक्ष घिमिरेले स्वास्थ्य सुरक्षाको प्रोटकल बनाएर बजार सञ्चालन गर्नुपर्नेमा जोड दिए । “सबै बजार पूर्ण रूपमा बन्द छन् । उत्पादित वस्तु कहाँ लगेर बिक्री गर्ने ?” उनको प्रश्न थियो, “अर्थतन्त्रलाई जोगाउन र उद्योगी व्यवसायीलाई डिप्रेसनमा जान नदिन अब सम्पूर्ण व्यवसाय पूर्ववत् अवस्थामा सञ्चालन गर्नुको विकल्प छैन ।”
उद्योग संगठनका तर्फबाट सरकारलाई सुझाव पठाइसकेको उनको भनाइ छ । कोरोना कहिले नियन्त्रणमा आउने भन्ने निश्चित नभएकाले सरकारले निश्चित मापदण्ड बनाएर सबै व्यवसाय सञ्चालन गर्न दिनुपर्ने घिमिरेको सुझाव छ । चैतदेखि यातायात, हवाई, शैक्षिक संस्था पूर्ण रूपमा बन्द छन् । उद्योग व्यवसाय पनि पूर्ण रूपमा सञ्चालन हुन सकेका छैनन् ।
सामाजिक दूरी कायम गर्ने, नियमित ज्वरो नाप्ने, सेनिटाइजरको प्रयोग गर्ने, पटक–पटक हात धुने, अनिवार्य रूपमा मास्क लगाउने, यदि कोही बिरामी छ भने उसलाई आइसोलेसनमा राख्नेलगायतका स्वास्थ्य प्रोटकल बनाएर उद्योग व्यवसायलाई सुचारु गर्न अध्यक्ष घिमिरेले आग्रह गरे । उद्योग–व्यवसाय र व्यापार बन्द भए पनि बैंकको ब्याज, बिमाको प्रिमियम, घरभाडा, कर, बिजुली–पानीको विललगायतका खर्च नरोकिने मोरङ व्यापार वरिष्ठ उपाध्यक्ष नविन रिजाल बताउँछन् । “उद्योग व्यवसाय बन्द हुँदा पनि बैंक ब्याज, मजदुर कर्मचारीको तलब, करलगायतको खर्चको मिटर घुमिरहन्छ,” उनले भने । लकडाउन र निषेधाज्ञा जारी गर्दा पनि संक्रमितको संख्यामा कमी नआएको उनको भनाइ थियो । लकडाउनकै कारण अहिले यो क्षेत्रका १५ प्रतिशत उद्योग बन्द भएको रिजालले बताए ।
यो क्षेत्रमा करिब ६ सय उद्योग छन् । अधिकांश उद्योगले भारतसहित तेस्रो मुलुकबाट कच्चापदार्थ आयात गर्ने गरेका छन् । तेल, विस्कुट, चाउचाउ, जस्तापाता, रड, जुट, मैदा, धागो, जुत्ताचप्पल, सिमेन्टलगायत उत्पादन गर्ने उद्योग छन् । पूर्ण क्षमतामा सञ्चालन हुँदा १ लाख २० हजारभन्दा बढीले रोजगारी पाउँछन् ।
लकडाउन र निषेधाज्ञा लगाउँदा पनि संक्रमण फैलिने दरमा कमी नआएका कारण अब विद्यालयबाहेकका क्षेत्रलाई सुचारु गर्नुपर्नेमा उनले जोड दिए । लकडाउन र निषेधात्रामा पनि मानिसको चहलपहलमा कमी नआएको रिजालको कथन छ । “बजार बन्द छ, र पनि मानिसको चहलपहलमा कमी देखिएन,” रिजालले भने, “दिनभरिचाहिं घरमा बस्ने जब बिहान–बेलुका हुन्छ ह्वारह्वार्ती निस्कने प्रवृत्ति छ । यसले कोरोना नियन्त्रण हुँदैन ।” उद्योगी व्यवसायीले सरकारका सबै निर्देशन पालना गरेको उनको दाबी छ । उद्योगी व्यवसायीका तर्फबाट सरकारलाई पूर्ण रूपमा सहयोग रहेको उनले बताए ।

 

बुधबार, भाद्र १७, २०७७ मा प्रकाशित
अर्थ संग मिल्दोजुल्दो
Facebook
हाम्रो समूह

१. शेखर रेग्मी- प्रधान सम्पादक
२. मीनकुमार नवोदित- सम्पादक
३. आशिष भट्टराई- निर्देशक

 

 

सम्पर्क

विराट सन्देश डिजिटल अनलाईन
विराटनगर- ५, चादनी चोक
मोरङ, नेपाल मोबाईल- ९८४२०२८०४९
ईमेल- [email protected]