०८ आश्विन २०७७, बिहिबार
ताजा अपडेट Close

परशु प्रधान

शनिबार, भाद्र २०, २०७७ मा प्रकाशित

लगभग १६ वर्षपछि मैले यसपालि आफ्नो कथा ‘डल्ले खोला’ पढेँ । म एकैपटक विगतमा पुगेँ अर्थात् पूर्वाञ्चलको यौटा पहाडी जिल्ला खोटाङ पुगेँ । मैले खोटाङ्ग छाड्दा जन्मिएका बच्चाले यस वर्ष एस.एल.सी दिन लागे । पञ्चायती व्यवस्था समाप्त भई बहुदलीय व्यवस्था आएको पनि ८–१० वर्ष भइसक्यो । फेरि खोटाङ जिल्ला वा त्यसको सदरमुकाम दित्तेल जान पाएको छैन । जाने इच्छा भएर पनि सकेको छैन, तर कुनै दिन त्यस जिल्लाको फेरिएको, सुधारिएको र फुलेको अनुहार हेर्न फेरि कहिले पाउँछु कुन्नि ।
खोटाङमा २०३६ देखि २०३९ सम्म प्रजिअ हुँदाको यौटा उपलब्धि ‘डल्लेखोला’ पनि रहेछ– अहिले थाहा भयो । जिल्लाको प्रशासक भएर बस्ता त्यहाँका विभिन्न चरित्रहरूसँग भेटघाट र सम्पर्क हुन्छ । यौटा डन्ठे प्रशासकले त केही बुझ्दैन– खाली लाठी र गोली मात्र बुझ्छ । तर यौटा सर्जक प्रशासकले, यौटा सिर्जनशिल व्यक्तिले धेरै कुरा आत्मसात गर्छ र त्यसलाई लेखनमा उर्ताछन् । यस्ता केही प्रशासकहरू अहिले म सम्झिरहेछु । ती हुन् केदारमान अमात्य, नरेन्द्रराज पौडेल, बाबुराम लामिछाने, गोरखबहादुर सिंह, तेजेश्वरबाबु ग्वंग, बाबा न्यौपाने आदि । अनि पुरानामा दौलतविक्रम विष्ट, कालीप्रसाद रिजाल आदि आदि । नामको फेहरिस्त निकै लामो हुन्छ ।
कुनै पनि पहाडी जिल्ला आफैँमा एउटा रहस्यपूर्ण सुरुङ्गजस्तो लाग्छ । बाहिर केही छैन, प्रवेश गर्दै जाँदा अनन्तमा पुगिन्छ । हरेकमा केही रहस्य छ, रोमाञ्चकता छ, आकर्षण छ । यस्ता जिल्लामा स्थायी सुब्बिनी, डिठ्ठिनी वा विचार्नीहरू हुन्छन् अर्थात् ती जिल्लामा आउने सुब्बा, डिठ्ठा वा बिचारीका त्यस जिल्लामा बसुन्जेलका अस्थायी श्रीमतीहरू हुन् । फेरि हरेक जिल्लामा खालि मुद्दा(मामिला मात्र गर्नेहरू हुन्छन्, प्रजिअ कार्यलयमा प्रत्येक दिन आएर एक(एकवटा उजुरी वा गुनासो गर्ने हुन्छन् । जुवा(तास मात्र खेलाएर जीविका गर्नेहरू हुन्छन् । वा गाउँबाट आएकाहरूलाई ठगठाग गरेर खानेहरू हुन्छन् । मलेसिया, सिङ्गापुर वा बोर्नियाबाट जागिर खाई बिदामा आउनेहरूले बजारमा आई आफ्नो कराँते र ब्ल्याक(बेल्टको निष्फिक्री प्रयोग गरेर टाउको फुटाएको पनि मैले देखेको छु, भोगेको छु । यी धेरै चरित्रहरू, प्रसङ्गहरूबाट दिक्तेल पनि अछुत छैन । लगभग तीन वर्ष त्यस जिल्लालाई कथाकारको आँखाले हेरेको थिएँ ।
तर माथिका प्रसङ्गहरूबाट एउटा अलग घटनाले मलाई ‘डल्लेखोला’ लेखायो । डल्ले एउटा साँचो खोला हो, जो दिक्तेलबजार र बुइपाको बीचमा अहिले पनि छ । बुइपाबाट दिक्तेलबजार आउन त्यही खोला तर्नु पर्छ । हिउँदमा सानो भए पनि वर्षामा खोलाले उग्र रूप लिन्छ । त्यही खोलाबाट यौटा सानो कुलो बनाइएको रहेछ सिंचाईका लागि । त्यो कुलो पास गर्नुअघि प्रमुख जिल्ला अधिकारीको हैसियतले मैले फिल्डमा गई निरीक्षण गर्ने आसय व्यक्त गरेँ । एक जना तत्कालीन पञ्चसँग त्यो कुलो हेर्न पनि म पुगेँ । वास्तवमा कुलो राम्रो बनेको रहेछ, राम्रोसँग बगेर बुइपाका केही भागहरूमा सिंचाई(सुविधा र्पुयाएको मैले आफ्नो आँखाले देखेँ । फलतः त्यो कुलोलाई मैले पास गरेँ र त्यसको भुक्तानी दिनका लागि आदेश पनि दिएँ ।
कुरो यहीँ समाप्त भएन । मलाई डल्लेखोला लेख्नु रहेछ । कसैले सुनायो, ‘हजुरले हेरी पास गरेको कुलो जिल्ला विकासबाट ८(१० पटक अनुदान लिई बनिसकेको कुलो हो । त्यो कुलो केही पनि बनेको होइन, कागजपत्र र नियम मात्र मिलाइएको हो ।’ म छाँगोबाट खसेजस्तो भएँ । कानुनको दृष्टिमा मैले गल्ती गरिसकेको थिएँ । नभन्दै सम्बन्धित कार्यालयबाट कागजपत्र झिकाई हेर्दा डल्लेखोला त त्यस क्षेत्रका सारा ठगपञ्चहरूको मागीखाने भाँडो पो रहेछ ! अहिलेका एन.जी.ओ.हरूजस्तै । जसलाई जाँड खाएको पैसा तिर्न रकम चाहियो – डल्लेखोलामा नयाँ पुल हालिँदो रहेछ । जसलाई छोरीको बिहे गर्नुपर्ने भयो– डल्लेखोलामा बाँध बनाइँदो रहेछ । डल्लेखोला खोला नभएर कल्पवृक्ष पो रहेछ । पञ्चायती व्यवस्थामा भ्रष्टाचार र अनियमितताको साक्षी रहेछ ।
मैले ‘डल्लेखोला’ जस्तो अमर र चर्चित कता लेख्नु रहेछ( त्यसलाई आफूभित्र धेरै महिना उमारेँ । सिडिओको जागिर खाएर यस्तो कथा लेख्ता पञ्चायतको ऐतिहासिक कृष्णलाल भइने हो कि ? जेलमा सडेर मर्न नपरे पनि जागिरबाट हात धुनुपर्ने हो कि भनी म डराएँ । यो भ्रष्टचारलाई उदाङ्गो पार्न मैले प्रतीक र विम्बको सहारा लिनुपर्ने भयो । अनि धेरै समयपछि डल्लेखोलालाई मैले मानविकरण गरेँ र ऊ बोलिरहेको, उसले आफ्नो कथा भनिरहेको रूपमा भ्रष्टाचारको कथा सरासर लेखेँ, नरोकिइकन । जागिरे हुँदाहुँदै त्यो कथा मधुपर्क वा गरिमामा छापियो, अहिले सम्झन सकिनँ । २०४१ चैत्रमा निस्केको मेरो कथासङ्ग्रह ‘प्रतिनिधि कथा’हरूमा ‘डल्लेखोला’ पनि राखियो । विद्वान् समालोचक डा. दयाराम श्रेष्ठले आफ्नो लामो भूमिकामा सो कथाको चर्चा यसरी गर्नुभयो– ‘जागिरमा डुबेकैले यस उपचरणमा हामीले डल्लेखोला (२०३८) जस्तो प्रभावशाली कथा पाएका छौँ । जुन कथा पढेर हामी वर्तमान समयमा देशमा विकासका नाममा भइरहेको कुकृत्यको भन्डाफोर भएको अनुभव गर्दछौँ । यस्तो कालिक सचेतनाको प्रस्फुटनमा निश्चय नै कथाकार परशु प्रधानको जागिरे जीवनको ठूलो भूमिका छ ।’
२०५३ मा आएर अङ्गद गौतमको शोधग्रन्थ ‘परशु प्रधानको कथाशिल्प’मा दस कथाहरूको मात्र अध्ययन–विश्लेषण भयो । जसमा ‘डल्लेखोला’ कथा पनि एक थियो । यस कथाको कथानक संरचना, विकासक्रम तथा त्यसको वस्तुविधान ढाँचाको विवरण दिँदै उहाँले आफ्नो उद्देश्य विधानमा ढाँचाको यसरी उल्लेख गर्नुभएको छ( ‘विकास निर्माणका लागि गाउँमा आएका रुपियाँ वैयक्तिक कार्यमा खर्च गरी गाउँलेलाई अनावश्यक दुःख दिने गाउँका ठूलाठालु भनाउँदा व्यक्तिको प्रतिनिधित्व गराउँदै उभ्याइएका चरित्रहरूमध्ये डल्लेखोलामा पुल राख्न निकासा भएको बजेट भ्रष्टचार गरी रनबहादुरले छोरीको बिहे गरेको र डल्लेखोलाबाट गाउँमा कुलो लैजानका लागि निकासा भएको बजेट हिनामिना गरेर शिववहादुरले जुवामा हारेको तथा योजनाअनुसार कुलो नबन्दा पनि खटिएका कर्मचारीहरूले जाँचपास गरिदिएको घटनाका माध्यमबाट तत्कालीन नेपालको कागजी विकास स्थिति, विकास निर्माणका लागि छुट्टाइएको बजेट हिनामिना भई लगत इस्टिमेटअनुसार कार्य नहुँदा पनि घुस खाएर जाँचपास गरिदिने तत्कालीन भ्रष्टाचारी कर्मचारीको नियत तथा जताततै भएको भ्रष्टचारलाई रोक्न नसक्ने अर्थात् भ्रष्टचारको जालोले छेकिएको तत्कालीन असक्षम प्रशासनिक व्यवस्थाको नाङ्गो रूप प्रस्तुत गर्नु यस कथाको उद्देश्य हो ।’
तर मैले भने उद्देश्यहीन लेखेको हुँ । सामाजिक विसङ्गतिको विकृति र भ्रष्टाचारको एक पक्षलाई डल्लेखोलामार्फत् मैले प्रस्तुत गरेको हुँ । एउटा कथाकारले दिनुपर्ने ‘इनपुट’ मात्र हो भन्ने मलाई लाग्छ । ‘आउटपुट’ बारे मैले कहिल्यै सोचिनँ, फेरि पनि सोच्तिन– सोच्न चाहन्नँ । त्यो पाठकहरूको जिम्मा दिइआएको छु ।
यो स्तम्भ अलिकति संस्मरण पनि भएर आइररहेछ, अलिकति मेरो जीवनी पनि, अलिकति भोगाइ र यथार्थ पनि । मेरो कथाको कोरा माल पनि, तयारी माल पनि । यसलाई पाठकहरूले के, कसरी लिनुहुन्छ, मलाई थाहा छैन । तर म रचनात्मक समालोचनाका पक्षमा छु ।
जागिरबाट मुक्ति पाएर लेखेको भए सायद डल्लेखोला अर्कौ किसिमे लेखिन्थ्यो कि ! धेरै बिम्ब प्रतीकलाई प्रयोग नगरी सिधै लेख्थेँ कि ? भनौं डाइरेक्ट एप्रोच हुन्थ्यो कि ! तर अझसम्म मलाई जागिरको हृयाङओभर छ । रक्सीको हृयाङओभर थाहा थियो, जागिरको थाहा थिएन । विभागीय प्रमुख कसलाई भन्नुपर्छ भनी सोध्ने आयोगका बहुमुखी प्रतिभाशाली सचिवले जागिरको हृयाङओभर आनन्दले दिए । तिनलाई हार्दिक बधाई र धन्यवाद छ( आज यसरी स्वतन्त्र रूपमा लेख्न पाइयो । अनि यो बहुदलीय प्रजातान्त्रिक व्यवस्थालाई जय भन्नुपर्छ( कमसेकम स्वतन्त्र अभिव्यक्तिको ग्यारेन्टी मैले र सबै साहित्यकारले पाएका छन् ।
‘डल्लेखोला’ लेखेँ, सराहना भयो, सिद्धियो । हालै प्रकाशित ‘चौध नेपाली कथाकारका कथा’ नामक कृतिले ‘डल्लेखोला’लाई शोषण र्गयो । तीनवर्षे बी.एड्. ३०३ को पाठ्यपुस्तकमा परशु प्रधानको ‘डल्लेखोला’ पनि प–यो । १५ वर्षपछि बी.एड्. पढ्नेहरूले कथा पढ्न पाउने भए र पञ्चायतको खुल्ला भ्रष्टचार थाहा पाउने भए । इतिहासको कालरात्रिलाई सम्झने भए– डल्लेखोलाको माध्यमबाट । त्यसमा कथाको परिचय मलाई मनपर्ने किसिमले दिइएको छ– ‘परशुको कथायात्रामा देखापरेका कथाका सापेक्षतामा डल्लेखोला अत्यन्त पृथक प्रवृत्तिको कथा हो । तत्कालीन देशभित्र विकास र प्रगतिका नाममा हुने आर्थिक भ्रष्टाचार एवम् कुकृत्यहरूको भन्डाफोर गर्ने प्रसङ्गमा यो कथा यथार्थको नजिक छ ।’
तर मलाई मन नपर्ने कुरा पनि छ । डल्ले खोलाको लेखक परशु प्रधानले सो पुस्तक एक प्रति पनि आफैंले किनेर पढ्नुर्पयो । प्रजातन्त्रमा लेखकले सहनुपर्ने यो शोषणलाई के भन्ने ? मलाई लाग्छ– डल्लेखोलाले प्रस्तुत गरेको कथाको भ्रष्टचार र शोषण कुनै न कुनै रूपमा अहिले पनि छ, सानो ठूलो भ्रष्टाचार र शोषण पञ्चायतमा पनि थियो, अहिले झन् बढी छ । डल्लेखोलाको अन्तर्कथा यत्ति हो तर मलाई लाग्छ संसारबाट नै डल्लेखोला कथा सिद्धिने छैन । त्यसको प्रवाह रहिरहने नै छ । डल्लेखोलाको अन्त्य कहिल्यै हुने छैन । अनि नेपाली कथा(साहित्यको इतिहासमा यो नै पहिलो भ्रष्टचारको कथा हो कि !
(प्रधानको कृति ‘कथा र सचनागर्भ’बाट)

शनिबार, भाद्र २०, २०७७ मा प्रकाशित
समाचार संग मिल्दोजुल्दो
Facebook
हाम्रो समूह

१. शेखर रेग्मी- प्रधान सम्पादक
२. मीनकुमार नवोदित- सम्पादक
३. आशिष भट्टराई- निर्देशक

 

 

सम्पर्क

विराट सन्देश डिजिटल अनलाईन
विराटनगर- ५, चादनी चोक
मोरङ, नेपाल मोबाईल- ९८४२०२८०४९
ईमेल- [email protected]