०८ आश्विन २०७७, बिहिबार
ताजा अपडेट Close

कटवाल दीपक

बुधबार, भाद्र २४, २०७७ मा प्रकाशित

कोभिड–१९ को महामारीले अहिले विश्व आक्रान्त छ । ठ्याक्कै ६ महिना अगाडिदेखि जारी भएको लकडाउनका कारण सबै क्षेत्र लगभग बन्द छन् । नेपालमा पनि कोरोना भाइरसको असर सबैजसो क्षेत्रमा परेको देखिन्छ । अझ भन्नुपर्दा होटल व्यवसाय, स्कुल, कलेज, फिल्म र रंगमञ्चलाई बढी असर परेको छ । जसका कारण सधैं पीडामा रहेको रंगमञ्च क्षेत्र त झन् थलिएको अवस्थामा छ ।
नेपालको रंगमञ्च लामो समय पार गरेर यहाँसम्म आइपुग्दा पनि रंगकर्मीहरूले कहिल्यै सुखको सास फेर्न सकेका थिएनन् । रंगकर्मीहरूलाई न त सरकारले हेर्यो न त उक्त पेशालाई समाजले इज्जत नै दियो । अझ मोफसलमा बसेर रंगकर्ममा लागेको मान्छे सधैं आर्थिक समस्यामा गुज्रिरहेको अवस्था छ । मुस्किलले थोरै नाटकहरू फाइदामा जाने गरेका छ्न । हामीले भर्खरै समाजलाई रंगमञ्च बुझाउँदै थियौं । दर्शक नाटकघरसम्म आउन थालेका थिए । नाट्य क्षेत्रको विकासको क्रम बढ्दै थियो । काठमाडौंबाहिर नाटकघर निर्माण हुँदै थिए । विराटनगर, धरान, काँकडभिट्टा, दमक, पोखरा, चितवनमा नियमित नाटकहरू मञ्चन हुन लागेका थिए । तर कोरोनाले फेरि हामीलाई १० वर्ष पछाडि धकेलिदिएको छ ।
म एक रंगकर्मी हुँ । विगत ७ वर्सदेखि पूर्वको नाट्य क्षेत्रलाई अगाडि ल्याउने उद्देश्यले रगमञ्चमा खुसी खोजिरहेको छु । गत वर्ष हाम्रो संस्था विराट आदर्श साहित्य मञ्चले पोखरामा ‘मुनामदन’, विराटनगरमा ‘छिडिभरिको आकाश’ र ‘बहुलाकाजीको सपना’ नाटक मञ्चन गरेका थियौं । जसबाट रंगमञ्चमा काम गर्ने कलाकारहरूलाई पारिश्रमिक दिन सकेका थियौं । वैशाख २० गतेबाट पोखरामा पुनः ‘मुनामदन’को तयारीमा जुटेका थियौं ‘नालापानीमा’ नाट्य सम्पादन गर्न म आफै व्यस्त थिएँ । तर, चैत ११ गतेबाट जारी गरिएको लकडाउनका कारण रंगकर्मीहरूको हातखुट्टा भाँचिएको छ ।
प्रदेश नम्बर १ मा मात्र रंग पेशामा आबद्ध करिब १ हजारभन्दा बढी साथीहरू हुनुहुन्छ । उहाँहरू सबैको गरिखाने बाटो बन्द भएको छ । भर्खर अगाडि बढ्दै गरेको रंग क्षेत्र पूरै थलिएको छ ।
हामी रंगकर्मी समाजमा सचेतनामूलक कला प्रस्तुत गरेर समाजलाई चेतना जोगाइरहन्छौं । सरकारका विभिन्न कामको प्रचारप्रसार गर्न हामी रंगकर्मी विभिन्न ठाउँमा पुगेका छौं । स्थानीय चुनाव होस् या केन्द्र सरकारको हामीले कलात्मक तरिकाले सरकारको समर्थन गर्दै जनातालाई भोट हाल्ने तरिका सिकाएका छौं । धूम्रपान र मद्यपानका विरुद्ध कलाका माध्यमबाट चेतना जोगाएका छौं । समाजका दलित, विछडा वर्ग र अन्यायमा परेकाहरूको कलाका माध्यमबाट आवाज बनेका छौं ।
चैत ११ गतेदेखि सरकारले देसभरि लकडाउनको घोषणा गरेसँगै नेपालका सबै नाटकघरहरू बन्द छन् । हामीले काम गर्न पाएका छैनौं । रंगकर्मी यसै त आर्थिक रूपमा कमजोर हुन्छ नै त्यहीमाथि कोरोना र लकडाउनले आयस्रोत नै बन्द गरिदिएको छ । कोठा भाडामा बस्ने कलाकारहरू आर्थिक रूपमा कमजोर भएका छन् । रंगमञ्च नै अँगालेका रंगकर्मीहरूको गोजी रित्तिएको छ । घरमा भएको चामलका बोरा रित्तिएको छ तर आउने बाटो कतै छैन ।
कला प्रस्तुत गर्न समूह चाहिन्छ जुन अहिलेको अवस्थामा असम्भव छ । के गरौं कसो गरौंको अवस्थामा छौं । आफ्नो रंग उडेको अनुहारले टुलुटुलु हेर्नुबाहेक अन्य विकल्प छैन हामीसँग । सबै रंगकर्मी गलेका छन् । सबैको अनुहारको रंग फिक्का भएको छ । यस्तो अवस्थामा न त केन्द्र सरकारले हाम्रो अवस्था बुझेको छ न त स्थानीय सरकारले हेरेको नै छ । सरकारले लकडाउनको घोषणा गर्यो न त कोरोना माहामारी नियन्त्रणमा आयो न त हामीले काम गर्न पाएका छांै । गोजी रित्तिएको छ । मनमा आशाबाहेक अन्यकै विकल्प छैन । म जस्ता हजारौं रंगकर्मी निस्कृय भएका छौं । तर, हामी अहिलेको अवस्थामा सरकारले जारी गरेको लकडाउनको पालना गरेर वस्नुभन्दा अर्को विकल्प छैन । केन्द्र सरकार र स्थानीय सरकारले रंगकर्मीहरूको खोजी गरी नहुनेहरूलाई सहयोग गर्नु आवश्यक रहेको छ ।
(लेखक– विराट आदर्श साहित्य मञ्चका अध्यक्ष हुन् ।)

बुधबार, भाद्र २४, २०७७ मा प्रकाशित
साहित्य संग मिल्दोजुल्दो
Facebook
हाम्रो समूह

१. शेखर रेग्मी- प्रधान सम्पादक
२. मीनकुमार नवोदित- सम्पादक
३. आशिष भट्टराई- निर्देशक

 

 

सम्पर्क

विराट सन्देश डिजिटल अनलाईन
विराटनगर- ५, चादनी चोक
मोरङ, नेपाल मोबाईल- ९८४२०२८०४९
ईमेल- [email protected]