०८ आश्विन २०७७, बिहिबार
ताजा अपडेट Close

केशव भण्डारी ‘कञ्चन’

शनिबार, भाद्र २७, २०७७ मा प्रकाशित

सर्वहारा जनता उचाल्दै
सिद्धान्तको व्याख्या गरेर
ल्याउँछौं भनेको ‘समाजवाद’ को गुलियो टुक्रा
ती सडकका आँसुहरूले चाख्न नपाउँदै
पानीमा घुलेको नुनझैं
पुँजीवादको घुम्टो ओढिरहेको अनुहार देख्छु,
अनि तात्कालिक मसालहरूलाई सोध्छु–
महोदय ! उहाँ नै हो कमरेड ?

उतिखेरका
परिवर्तनकारी सोचमा ठड्डिएका
लाल सलामहरू सम्झिन्छु
पेट बाँधेर उठेका ओठहरू सम्झिन्छु
स्वर सुक्नेगरी गाइएका मुक्तिका गीतहरू
यही कानको आसपास गुन्जिरहेछन्
त्यसैले त आज पनि म
आफ्नो गाँस काटेर देशको पेट भर्न खोज्छु
तर उहाँ त
देशको गाँस काटेर आफ्नो पेट भर्न खोज्नु हुन्छ,
अनि प्रत्येक आन्दोलनहरूको
प्रत्यक्षदर्शी ‘सडक’लाई सोध्छु–
महोदय ! उहाँ नै हो कमरेड ?

इतिहासका ज्वालाहरू खोतलेर
परिवर्तन चाहँदै बेजोडले ‘लाल सलाम !’ गर्न खोज्छु
आफैमा अभिवादनको मुट्ठी क्षणभरमा ओइलिन्छ
हाम्रा कमरेडहरूको मन देखेर
हाम्रा कमरेडहरूको मस्तिष्क देखेर,
अनि खित्का छोडेर हाँस्छु–
‘पुँजीपतिहरूको समाजवाद’ नियालेर
अनि प्रत्येक आन्दोलनले पिएका
रक्तकणहरूलाई सोध्छु–
महोदय ! उहाँ नै हो कमरेड ?

हाम्रो भात पकाउँदै गरेको अगेनो र आकाश
आपसमा आँखा जुधाउन कहिले छोड्छन् ?
जाङे फाटेर दुवै हातले लाज छोपेर हिंडेझैं
हाम्रो देश कतिदिन हिंड्न सक्छ ?
कति दिन छोप्छौ खोक्रो सिद्धान्तको मजेत्रोले
सत्ताको कुरुप अनुहार ?

सिंहदरबारमा बसेर
सिमानाका सिमास्तम्भहरू गिन्ती गर्ने
महाशयलाई औंल्याउँछु,
अनि छिमेकीबाट दिनहुँ दमन खेप्ने
नेपाली ज्यानहरूलाई सोध्छु–
महोदय ! उहाँ नै हो कमरेड ?

शनिबार, भाद्र २७, २०७७ मा प्रकाशित
साहित्य संग मिल्दोजुल्दो
Facebook
हाम्रो समूह

१. शेखर रेग्मी- प्रधान सम्पादक
२. मीनकुमार नवोदित- सम्पादक
३. आशिष भट्टराई- निर्देशक

 

 

सम्पर्क

विराट सन्देश डिजिटल अनलाईन
विराटनगर- ५, चादनी चोक
मोरङ, नेपाल मोबाईल- ९८४२०२८०४९
ईमेल- [email protected]