१० मंसिर २०७७, बुधबार
ताजा अपडेट Close

आर.सि. कोइराला

मंगलबार, मंसिर ०२, २०७७ मा प्रकाशित

मेरो काका स्कुटर दुर्घटनामा पर्नुभएको साथै पुनः हृदयघात भएकाले म नोबेल अस्पताल विराटनगरमा व्यस्त थिएँ । सबैतिर दसैंको रमझम थियो । बजारभरि दसैं किनमेलका लागि मान्छेको भीड हुन्थ्यो, अस्पताल पनि निकै भिडभाड थियो । छिनछिनमा कोभिडले ग्रस्त भएका बिरामी आउने र मृत्यु भएका बिरामी प्लास्टिकले बेरेर निकाल्ने क्रम चलिरहेको थियो । कसैलाई पनि कोरोनाको पर्वाह थिएन । सबै आफैंमा मस्त थिए ।
अस्पतालमा काकालाई हेर्न बहिनीज्वाइँहरू दुवैजना हुनुभएकाले राति सुत्ने पालो दिने सल्लाह गर्दै म कात्तिक १८ गते सधैं जस्तै बेलुका घर आएँ, घर आउँदा थाहा भयो छोरीलाई हल्का रुघाखोकी लागिरहेको रहेछ, कोरोनाको कारण तुरुन्तै डाक्टर भेट्न जानभन्दा फोन गर्ने सल्लाह हामी श्रीमान–श्रीमतीले सल्लाह गर्यौ । छोरीको नियमित जाँच तथा उपचार गराइरहनु भएको डा. अरुण गिरीले एकैपटकमा फोन उठाएर छोरीका लागि आवश्यक औषधि ह्वाट्सएपमार्फत बताइदिनु भयो । राति अस्पताल जाने भएकाले श्रीमतीलाई तिमी खाना बनाउँदै गर म छोरीका लागि औषधि लिएर आउँछु भन्दै निस्किएँ ।
करिब २० मिनेटमा औषधि लिएर आएँ, तर घरभित्र छिर्दा घरको माहोल नै फरक थियो । भान्सामा पाक्दै गरेको खानेकुराको वास्ना नै आएन भन्दै श्रीमती आत्तिरहेकी थिइन् । स्थितिलाई सामान्य बनाउँदै नआत्तिन भने तथापि मनमा डर पैदा भयो । अब अस्पताल नजाने निर्णय गरी ज्वाइँ साबलाई खबर गरें । उक्त दिन दिउँसोदेखि नै मेरो टाउको र पछाडि ढाड निकै दुखिरहेको थियो, चिसो र अरु नै केही कारणले होला भन्दै बेवास्ता गरिरहेको थिएँ । कोरोना सर्ने कुराले सुरुवाती दिनदेखि नै मनमा सन्त्रास पैदा हुन्थो । त्यसैले जहिले पनि अत्यन्तै होसियार भएर काम गरिरहेको हुन्थें । मास्क र सेनेटाइजर पटक्कै छोडेको थिइन् ।
घरमा आवतजावत भैरहने बुबाआमा, काकाकाकी अलिक रोगी र बूढो अनि छोरी सानै हुनाले पनि कता–कता डर लागिरहन्थ्यो । केही दिन अगाडि कात्तिक ४ गते पिसिआर टेस्ट गर्दा रिपोर्ट नेगेटिभ आएको थियो । कुनै पनि सिम्टम्स देखिएको थिएन ।
भोलिपल्ट कात्तिक १९ गते हामी तीनैजना छोरीसमेतको पिसिआरका लागि जैन भवनमा गएर स्वाब दियौ ं। २० गते राति वडा न ०८ का वडाध्यक्ष निश्चल अर्यालको फोन आयो । मोबाइलमा निश्चल अर्याल देख्दै पोजेटिभको शंका लागिहाल्यो । तर, सबैलाई हो वा के हो भन्ने भयो उहाँले फटाफट ‘तपाईंहरू दुईजना तपाईं र अस्मिता भट्टराईलाई पोजेटिभ देखायो’ भन्नुभयो । मैले छोरीको नाम हेर्न भने एकछिनमा फोन गर्नु भन्नुभयो । मन आत्तिरहेको थियो श्रीमतीको अनुहारमा उदाशिनता छाएको थियो । ५ मिनेटपछि फोन गरे ‘छोरीको नेगेटिभ छ’ भन्नुभयो अनि छोरीलाई छुट्टै राख्नुहोला नआत्तिनु कसैलाई पठाउनु वडामा केही औषधि पाइन्छ लगेर खानुहोला भन्नुभयो ।
दुईजनाको रिपोर्ट पोजेटिभ आयो तर साउन २१ गते ४ पुगेर ५ लागेकी छोरीको नेगेटिभ । अब झन् समस्या आयो अब छोरीलाई कसरी सुरक्षित गर्ने भन्ने चिन्ताले मन अत्यन्तै दोधारमा पर्यो । विभिन्न खालका सल्लाह भए, छोरीलाई कहाँ राख्ने भनेर । कोरोनाको खास दबाई नभएकाले हामी जे गर्छौ छोरीलाई पनि त्यही गराउने अन्त पठाउँदा उसलाई नि गाह्रो हामीलाई छोरीको चिन्ता थप बढ्ने निष्कर्षमा हामी पुग्यौं र आफैसँग राख्ने निर्णयमा पुग्यौं । मेरो सिटी भ्यालु १५.८ र श्रीमतीको २६.५ आएको रहेछ ।
विश्वव्यापी फैलिएको कोरोना महामारीले हामीलाई नभेट्नेमा दुईमत थिएन । जति नै होसियारी गरे पनि कहीं न कहीं हामीले होश गुमायौं र हामीलाई कोरोना लाग्या े। जतिसुकै जोखिम भए पनि उच्च सावधानी अपनाएको भए सायद कोरोना लाग्दैनथ्यो होला । त्यसैले म कसैलाई पनि दोष दिन चाहन्नँ ।
पहिलेदेखि नै एकदिन कोरोना लाग्ने नै हो भन्ने सोचेर होला मेरो आत्मबल उच्च नै थियो । श्रीमतीलाई पनि आत्मबल उच्च राख्न सुझाएँ । खासै तनाव लिने काम गरिनँ । हामी तीनैजना होम आइसोलेसनमा बस्ने निर्णय ग¥यौं । फोनमा कुराकानी भैरहे पनि आमाबुबा, काकाकाकी र बहिनीज्वाइँलगायत साथीभाइहरूलाई भने आजसम्म भेट भएको छैन ।
तेस्रो र चौथो दिन मेरो शरीर अत्यन्तै दुखिरहेको थियो । शरीरको पछाडिको माथिल्लो भाग र तल्लो भाग धेरै दुखेको अनुभव भइरहेको थियो । शरीरमा कपडाले छुँदा पनि दुख्थ्यो, हल्का ज्वरो आइरहेको अनुभव हुन्थ्यो । शरीर अत्यन्तै कमजोर र शिथिल भएको थियो । टाउको असाध्यै दुखिरहेको थियो । चौथो दिन दिउँसोबाट श्रीमतीलाई कतिकति बेला श्वास फेर्न अलिक कठिनाइ भएजस्तो भयो । तै पनि खासै गाह्रो पारेको थिएन । साथी दिनेश दाहाललाई अक्सोमिटर किनेर ल्याउन अनुरोध गरें ।
बेलाबेलामा अक्सिजनको मात्रा हेरिरहन्थें, मेन्टेन नै हुन्थ्यो अनि ढुक्क हुन्थें । कसैगरी शरीरमा अक्सिजनको मात्रा घटेमा तत्कालै शरीरलाई अक्सिजन चाहिने हुन्छ र अस्पताल भर्ना गर्नुपर्छ भन्ने डर थियो । बेलुका ८ बजेतिर श्रीमतीलाई अलिक गाह्रो भयो, मैले पहिला दाइँ ज्ञानु खड्कालाई फोन गरें र उहाँकै सल्लाहअनुसार मेयर भीम पराजुलीलाई फोन गरें । भीम दाइले ‘नआत्तिनु मेरो गाडीमा सिलिन्डर छ १५ मिनेटमा घर आइपुग्छु’ भन्नुभयो । नभन्दै १५ मिनेटभित्र अरुण न्यौपाने र मेयर सा’ब घरमा नै आइपुग्नुभयो र तुरुन्तै अक्सिजन लगाइयो । केहीबेरमा नै अवस्था सामान्य भयो । पाँचौं दिन पनि बेलुकातिर श्रीमतीलाई सास फेर्न अलिक गाह्रो भयो । डा. प्रज्वल खतिवडासँग सम्पर्क गर्यौ उहाँले ज्वरो, अक्सिजनको मात्रा, मुटुको धड्कनलगायत सबै कुरा फोनबाट नै बुझ्नुभयो र स्पारोमिटर ल्याएर प्रयोग गर्न सल्लाह दिनुभयो, यसको प्रयोगले धेरै राम्रो भयो ।
ज्वरो र शरीरको दुखाइ भने कोडोपार सिटामोलले कम गथ्र्यो । फेरि कोरोना लागेमामा दुखाइ कम गर्ने अन्य दबाइहरूको प्रयोग गर्नुहुँदैन । हरेक ५–६ घण्टासम्म सिटामोलले राम्रो काम गथ्र्याे । दुवैजनालाई गन्ध हराए पनि भोक असाध्यै लाग्थ्यो । त्यसैले हरेक दुई–दुई घण्टामा केही न केही खाइरहन्थ्यौं ।
कसैकसैलाई भोक नै लाग्दैन भन्ने सुनिन्छ । भोक नलागे पनि जबरजस्ती केही न केही खाइरहनुपर्छ । तातो पानी, सुप, फलफूल र प्रोटिनयुक्त खानेकुरा निरन्तर मन नलागे पनि खाइरहनुपर्छ । कसै–कसैले सप्लिमेन्ट भिटामिनहरू पनि लिएको पाइन्छ । हामी पनि लगभग २ महिना अगाडिदेखि भिटामिन सि र ई नियमित रूपमा राति सुत्ने बेलामा सेवन गर्थौ ।
बिहान उठ्ने बित्तिकै जहिले पनि ध्यान, प्रणायाम, योगा गर्ने, केही काम गर्न वा लेख पढ गर्न पनि पटक्कै मन नलाग्ने हुनाले दिनभरि सुतेपछि झनै कमजोर हुने हुनाले कोठामै भए पनि यताउता हिँडिरहन्थौ । दिनमा तीन–चारपटक तातोपानीले बाफ लिने गर्यौ ।
सुरुवातका ५–६ दिन सामाजिक सञ्जालबाट टाढा भैइयो । आफूलाई सक्रिय राख्ने सोचले दिनमा एउटा मात्र भए पनि बिहान ७ः४५ देखि ८ः२५ सम्मको अनलाइन पढाइरहे । कोरोनासँग सम्बन्धित समाचारले आफ्नो मन आत्तिने र कमजोर बनाउने काम गर्छ । त्यसैले त्यस्ता कुराहरूबाट टाढा बस्नु नै उत्तम हुन्छ । बरु मोटिभेसनल भिडियोहरू, किताबहरू पढ्नुपर्छ भन्ने थाहा थियो ।
चौथो दिन श्रीमतीको नाक खुल्यो तर मेरो अझैसम्म पनि खुलेको छैन । छैटौं, सातौं दिनमा अन्य सिम्टमहरू हराउँदै गए । हामी जे–जे गर्थौ छोरीलाई पनि त्यही गराएयौं । तर पहिलाजस्तो एउटै थालमा खाने, एउटै तौलिया प्रयोग गर्ने जस्ता काम विल्कुलै गरिएन । प्रायः घरभित्र मास्क लगाएर नै बस्यौं । आज एघारौं दिन पनि अरु कुनै समस्या नभए पनि श्रीमतीलाई बेला–बेलामा सास फेर्न गाह्रो भैरहेको छ । मेरो शरीर अलिक कमजोर भएजस्तो महसुस भए पनि म र छोरी अहिले स्वस्थ छौं ।
कोरोना वास्तविकताभन्दा बढी नै ब्रान्डिङ भएको मैले महसुस गरें । हो यसले कमजोर पक्कै बनाउने रहेछ । तर, नियमित खानपिन, तातो पदार्थ र घरेलु जडिबुटी जस्तै गुर्जो, अमला, बेसार, खाने कपुर, दालचीनी, सुकमेल, असुरो नै यसको मुल औसधि हो भन्ने मलाई लाग्यो । तसर्थ, यसका अभियन्ताहरूको कुरा नसुनेर आवश्यक सावधानी अपनाउन सबैलाई अनुरोध गर्दछु ।
साथै कोरोना लागि होम आइसोलेसनमा रहेका जोकोहीलाई पनि आफन्त र साथीभाइहरूको फोन वा सामाजिक सञ्जालमार्फत भए पनि साहसको आवश्यकता हुने रहेछ, यसले बिरामीलाई थप ऊर्जा प्रदान गर्दछ । यसमा कसैले पनि कन्जुस्याइँ नगरांै यसले बिरामीलाई ऊर्जा प्रदान गर्दछ । हामीलाई समय–समयमा फोन तथा मेसेजबाट ऊर्जा प्रदान गर्ने दाइ अर्जुन नेपाल, प्रा.डा. देवेन्द्र अधिकार, डा. रामप्रसाद कोइराला, नरेश पौडेल, भेषराज पोखरेल, रोशन घिमिरे, दिनेश दाहाल, रवि कटुवाल, हरिकृष्ण अर्याल, केशव चन्द, दानकुमार ढकाल, लक्ष्मण ढकाल, संगम उप्रेती, मोहनकुमार श्रेष्ठ, तुलसी खतिवडा, केदार केसी, सुभाष लुइँटेल, अनिश गुरागाई, सविन दाहाल, गौरव शर्मा, रेश्मा गिरी, रश्मिता अधिकारी, प्रतिभा पाण्डे, आरध्य भट्टराई, नवीन गौतम, त्रिलोचन भट्टराई, ए.के. दास, जनक ढकाल, कटवाल दीपक, मीनकुमार नवोदित, शिशिर लामा, सम्पूर्ण विद्यार्थी भाइबहिनी, अभिभावक, आफन्तलगायत हाम्रो सुस्वास्थ्यको कामना गर्ने सम्पूर्णमा नमन गर्दै हार्दिक आभार प्रकट गर्दछु ।
कात्तिक ३० गते दिउँसो विएफएममा कोरोना र अनुभवसम्बन्धी आफ्नो अनुभव कार्यक्रममा कैलाश खाकी श्रेष्ठसँग फोनमार्फत सहभागी हुने अवसर पाएँ । मैले उक्त कार्यक्रममा नै घोषणा गरेको छु, चौध दिनपछि प्लाज्मा थेरापीका लागि प्लाज्मा दान गर्न तयार छु । केरोनाबाट गम्भीर किसिमका बिरामीलाई प्लाज्मा थेरापीका लागि रगत चाहिएमा रगतदान गर्नेछु । मेरो रगत समूह ए नेगेटिभ हो भने श्रीमती को ओ पोजेटिभ हो । अन्य निको भइसकेका संक्रमितले पनि आफ्नो रगत दान गर्नुहोला ।
अमेरिका, बेलायत, चीन, रूसलगायत देशमा कोरोनाविरुद्धको खोप विकासको काम अन्तिम चरणमा पुगे पनि उक्त खोप नेपाली बजारमा आइपुग्न निकै समय लाग्नेछ । संक्रामक रोगसम्बन्धी अमेरिकी विज्ञ डा. एन्थोनी फाउचिले कोरोना भाइरसविरुद्धको खोप आइसकेपछि पनि मास्क र सामाजिक दूरी आवश्यक रहेको सुझाव दिएका छन् । नेपालमा सुरूवातका दिनभन्दा हिजोआज आममानिसले कोरोनालाई सामान्य रूपमा लिन थालेको र खेलाची गरेको महसुस हुन्छ । कृपया, कोरोनालाई त्यति सामान्य रूपमा पनि नलिनुहोला । आफूलाई नलाग्दासम्म कोरोना सामान्य लाग्छ, तर जसलाई लाग्छ, उसैलाई थाहा हुन्छ कोरोनाको पीडा कस्तो हुन्छ भनेर । कोरोना अदृश्य र आरएनए जीवित जिवाणु भएकाले भागेर लुक्ने ठाउँ छैन, दबाई बनिसकेको छैन, तसर्थ, सावधानी अपनाउनु र संयम रहनु नै आजको मुख्य आवश्यकता हो ।

मंगलबार, मंसिर ०२, २०७७ मा प्रकाशित
साहित्य संग मिल्दोजुल्दो
ताजा पोष्ट
लोकप्रिय पोष्ट
Facebook
हाम्रो समूह

१. शेखर रेग्मी- प्रधान सम्पादक
२. मीनकुमार नवोदित- सम्पादक
३. आशिष भट्टराई- निर्देशक

 

 

सम्पर्क

विराट सन्देश डिजिटल अनलाईन
विराटनगर- ५, चादनी चोक
मोरङ, नेपाल मोबाईल- ९८४२०२८०४९
ईमेल- [email protected]