१० मंसिर २०७७, बुधबार
ताजा अपडेट Close

Birat Sandesh

बिहिबार, मंसिर ०४, २०७७ मा प्रकाशित

काठमाडौँ, मङ्सिर ४ गते । कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमण उत्कर्षमा पुगेका बेला सङ्घीय संसद् सचिवालयले हिउँदे अधिवेशनको तयारी थालेको छ । एक अधिवेशन र अर्को अधिवेशन बीचको अन्तर छ महिनाभन्दा बढी हुन नहुने संवैधानिक प्रावधान अनुसार पुस १७ भित्र हिउँदे अधिवेशन प्रारम्भ गर्नुपर्ने भएपछि अधिवेशनको तयारी थालिएको हो ।
सङ्घीय संसद्का महासचिव डा. भरतराज गौतमले यस अघिभन्दा थप स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर विभिन्न विकल्पसाथ अधिवेशनको तयारी थालिएको जानकारी दिनुभयो । उहाँले यसअघि कोरोनामा केन्द्रित भएर हामीले अधिवेशनको बैठक चलाएका थियौँ, अहिले हामीबीच सङ्क्रमित हुन सक्छन् भन्नेसमेत सोचेर बैठकको तयारी गर्नुपर्नेछ । संवैधानिक सीमाको ख्याल गरेर सचिवालयका तर्फबाट आन्तरिक तयारी भने गरिरहेका छौँ भन्नुभयो । अधिवेशनको प्रारम्भ भने मन्त्रिपरिषद्को सिफारिसपछि राष्ट्रपतिबाट बैठक आह्वान भएपछि हुनेछ ।
यसअघि कोरोना कहरबीच डाकिएको बजेट अधिवेशनमा सांसदबीच भौतिक दूरी कायम गरिएको थियो । प्रवेश गेटमा ज्वरो नाप्ने लगायतका सुरक्षात्मक उपाय अवलम्बन गरिएको थियो । साथै बैठक कक्षमा एक र अर्को सांसद बीचका दुई कुर्सी खाली राखिएका थिए । दुवै सदनको संयुक्त बैठकमा भने दर्शकदीर्घा रहने स्थानमा पनि सांसदलाई राखिएको थियो । एक बैठकको हकमा बैठक कक्ष मात्र प्रयोग
भएको थियो ।
कोरोनाको अवस्था बढिरहेका कारण हाल सङ्क्रमित समेत हुनसक्ने अवस्था दृष्टिगत गरेर थप सुरक्षा उपाय अपनाइने गौतमले बताउनुभयो । यसअघि कायम भएको भौतिक दूरी थप बढाउने तयारी भइरहेको उहाँको भनाइ छ । ग्यालरीलाई समेत सांसद आशन कक्षमा विस्तार गर्ने योजना रहेको गौतमले बताउनुभयो ।
उहाँले हामी ग्यालरीलाई पनि सांसदको आशन कक्ष बनाउने गरी तयारी गरिरहेका छौँ । यो पटक संयुक्त बैठक बस्नुपर्ने अवस्था छैन । यसकारण केही सहज भने हुनेछ भन्नुभयो । यस्तै सचिवालयले स्वास्थ्य मापदण्ड अनुसार चिकित्सकको सल्लाहमा बैठक कक्ष नियमित सफाइ गर्ने, आवश्यक केमिकलको प्रयोगबाट बैठक प्रारम्भअघि सफाइ गर्ने जनाएको छ । विज्ञ सँगको परामर्शका आधारमा सफाइका अन्य योजना बनाउने सचिवालयको तयारी छ । यस्तै बैठकको प्रवेश विन्दुमा ज्वरो नाप्ने तथा हाजिर कक्षसमेत थप व्यवस्थित बनाउने तयारीमा सचिवालय छ । सचिवालयले राजनीतिक दलको परामर्शमा लक्षण देखिएका वा आशङ्कामा रहेका सांसदलाई बैठकमा उपस्थित हुँदा थप सतर्क हुन अपिल गर्ने तयारी गरेको छ ।
यसअघि बजेट अधिवेशन समेत कोरोना प्रभाव बढ्दै जाँदा आकस्मिक रूपमा अन्त्य गरिएको थियो । वार्षिक बजेट तथा संविधान संशोधन विधेयक पारित भएपछि असार १८ गते अधिवेशन अन्त्य गरिएको थियो । उक्त समय सीमा अनुसार ढिलामा पनि अब पुस १७ भित्र अधिवेशन प्रारम्भ भइसक्नुपर्नेछ । बजेट अधिवेशन लामो समय नचल्दा कतिपय महìवपूर्ण विधेयक समेत लामो समयदेखि संसद्मा विचाराधीन छन् । दुवै सदनमा गरी विभिन्न चरणमा ५० वटा जति विधेयक विचाराधीन छन् । हिउँदे अधिवेशन विधेयक अधिवेशनका रूपमा समेत चलाइने प्रचलन रहेकाले महìवपूर्ण विधेयक पारित हुने अपेक्षा गरिएको छ ।

बिहिबार, मंसिर ०४, २०७७ मा प्रकाशित
मुख्य समाचार संग मिल्दोजुल्दो
ताजा पोष्ट
लोकप्रिय पोष्ट
Facebook
हाम्रो समूह

१. शेखर रेग्मी- प्रधान सम्पादक
२. मीनकुमार नवोदित- सम्पादक
३. आशिष भट्टराई- निर्देशक

 

 

सम्पर्क

विराट सन्देश डिजिटल अनलाईन
विराटनगर- ५, चादनी चोक
मोरङ, नेपाल मोबाईल- ९८४२०२८०४९
ईमेल- [email protected]