तराईमा आउँदो शुक्रबारसम्म बाक्लो हुस्सु लाग्ने मौसमविदले पूर्वानुमान गरेका छन् । तराईका अधिकांश जिल्लामा सोमबारदेखि लागेको बाक्लो हुस्सु कम्तीमा शुक्रबारसम्म कायम रहने सम्भावना रहेको मौसमविद वरूण पौडेलले जानकारी दिए । बाक्लो हुस्सु र शीतका कारण तराईको जनजीवन कष्टकर बन्दै गएको छ । बिहान अबेरसम्म घर बाहिर निस्कन नसक्दा दैनिक ज्याला मजदूरी गर्नेहरूलाई गुजारा चलाउन मुस्किल परेको छ । तराईका जिल्लामा बाक्लो हुस्सु लाग्दा आन्तरिक उडान पनि प्रभावित हुँदै आएको छ । काठमाडौँ उपत्यकामा पनि तुवालो लागेको छ । मौसममा बदली आएपछि उपत्यकामा फेरि चिसो महसुस हुन थालेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार काठमाडौँको अधिकतम तापक्रम १८ डिग्री सेल्सियसको हाराहारीमा रहने छ । महाशाखाले जारी गरेको तीनको पूर्वानुमानमा आज र भोलि प्रदेश १ र गण्डकी प्रदेशको एकाध ठाउँमा हल्का वर्षाको सम्भावना छ ।
बुधबार, पौष २९, २०७७ मा प्रकाशित